प्रशान्त झाद्वारा जसपा नेपाल परित्याग

२४ असोज, जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका जनकपुरधाम उपमहानगरपालिका समितिका नगर सचिव प्रशान्त झाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

झाले शुक्रबार पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। उनले आफ्नो राजनीतिक सोच, प्राथमिकता र आगामी यात्रालाई नयाँ ढंगले अघि बढाउने उद्देश्यले पार्टीबाट अलग हुने निर्णय लिएको जनाएका छन्।

मधेशको अधिकार, पहिचान, समानता र सामाजिक न्यायका लागि भएको तेस्रो मधेश आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका झा एक दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय थिए।

उनले तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालनिकट राष्ट्रिय युवा संघको धनुषा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आबद्ध भई जनकपुरधाम उपमहानगरपालिका समितिको नगर सचिवका रूपमा संगठन निर्माण तथा पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

लोसपा नेपाल र जसपा नेपालबीच एकीकरणपछि पनि उनले नगर सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

राजीनामा पत्रमा झाले पार्टीमा रहँदा संगठन निर्माण, मधेशका मुद्दा तथा लोकतान्त्रिक र सामाजिक न्यायका सवालमा योगदान गर्ने प्रयास गरेको उल्लेख गरेका छन्। साथै, राजनीतिक यात्राका क्रममा साथ, सहयोग र मार्गदर्शन प्रदान गर्ने अग्रज, सहकर्मी, युवा साथी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

पार्टी नेतृत्वबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै झाले आजकै मितिदेखि जसपा नेपालको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more