२४ असोज , जनकपुरधाम। दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा ‘सस्तो बजार’का रूपमा परिचित दशैं बजार सुरु भएको छ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर र दशैं बजार व्यवस्थापन मूल समितिका संरक्षक एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले संयुक्त रूपमा बजारको उद्घाटन गरेका हुन्।
करिब ४० वर्षदेखि सञ्चालन हुँदै आएको दशैं बजारमा यस वर्ष १५० भन्दा बढी स्टल राखिएका छन्। बजारमा दशैं, दीपावली तथा छठ पर्वका लागि आवश्यक दैनिक उपभोग्य सामग्री एकै ठाउँमा सुलभ मूल्यमा खरिद गर्न पाइने आयोजकले जनाएको छ।
बजारमा नेपालमा उत्पादित खाद्यान्न, विभिन्न कम्पनीका साबुन, सर्फ, चियापत्ती, अगरबत्ती, भाँडाकुँडा तथा कपडालगायत दैनिक जीवनमा आवश्यक सामग्रीका स्टलहरू राखिएका छन्।
असोज २४ गतेदेखि सुरु भएको दशैं बजार यस वर्ष विजयादशमीसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए। साथै, छठ पर्वसम्म पसलहरूमा हाल कायम रहेको मूल्यमा सामान बिक्री गर्ने निर्णय गरिएको उनले बताए।
पर्वका बेला उपभोक्तालाई आवश्यक सामग्री सहज रूपमा र सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको दशैं बजारले स्थानीय उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।




















