२० असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–८ स्थित दशरथतलाउ पोखरीमा एक पुरुषको शव फेला परेको छ।
आज बिहान करिब ९ः४५ बजे स्थानीयले पोखरीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शवलाई पोखरीबाट बाहिर निकालेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक अन्दाजी ५५ वर्षीय पुरुष रहेका छन्। घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको प्रकृति र मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।




















