१७ असोज, काठमाडौ । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गराएर सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४औँ महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित भइसकेको उल्लेख गर्दै १५औँ महाधिवेशन सम्पन्न गराएर नेतृत्व हस्तान्तरण हुने बताएका हुन्।
महतले पार्टीको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको दाबी गरे। प्रतिकूल अवस्था र विभिन्न दबाबका बाबजुद पार्टीका नेता तथा कार्यकर्ता आफ्नै खर्चमा कुनै तामझामबिना देशभरका जिल्ला तथा वडा तहमा स्वतःस्फूर्त रूपमा संगठनात्मक गतिविधिमा जुटिरहेको उनको भनाइ छ।
विशेष अधिवेशनका नाममा पार्टीलाई बिथोल्ने प्रयास भइरहेको भन्दै महतले त्यस्तो प्रयास गलत भएको बताए। उनका अनुसार त्यसको विरोधमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसदहरू उभिएका छन्।
पार्टीको मूल आदर्श, मूल्य र मान्यतालाई जोगाउन आफूहरू न्यायको पक्षमा उभिएको बताउँदै महतले अदालतबाट समेत न्याय पाइनेमा आफूहरू विश्वस्त रहेको धारणा व्यक्त गरे।
अर्को अधिवेशनमा सहभागी भएका नेता तथा कार्यकर्ताहरूले समेत आफ्नो गल्ती महसुस गर्दै वडा तहदेखि नै आधिकारिक प्रक्रिया र अभियानमा पुनः जोडिन थालेको महतको दाबी छ।




















