२१ भदौ, काठमाडौ । नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियाको क्लाङस्थित बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो।
साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा गुल्सन झाले अविजित ४४ रन बनाए। ईशान पाण्डेले ४० तथा देव खनालले ३९ रनको योगदान दिए। साउदीका इश्तियाक अहमद र मुहम्मद अतिफले समान २–२ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९ ओभर २ बलमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिदले सर्वाधिक ७७ रन तथा मुहम्मद अतिफले ३० रन बनाए।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए। ललित राजवंशीले २ विकेट हात पारे।
साउदीविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो। नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट तथा दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।
एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
प्रतियोगिताको विजेताले आगामी वर्ष आयोजना हुने एशिया कपमा स्थान सुरक्षित गर्नेछ। प्रतियोगिताको फाइनल खेल भदौ २७ गते शनिबार हुनेछ।

















