२१ भदौ, काठमाडौँ । प्रधानमन्त्री बालेन साहले रसुवा–भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहतमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीहरूको साहस र योगदानको उच्च प्रशंसा गरेका छन्।
प्रधानमन्त्री साहले सुरक्षाकर्मीहरूलाई सम्बोधन गर्दै विपद्का बेला आफ्नो ज्यानको समेत जोखिम मोलेर नागरिकको उद्धार र सुरक्षामा खटिएको भन्दै उनीहरूको योगदानको उच्च कदर हुने बताएका हुन्।
प्रधानमन्त्रीले नुवाकोटको विदुर–६, खम्पा क्याम्पस्थित केन्द्रीय कारागारमा बाढी आउँदा सुरक्षाकर्मीले देखाएको साहसलाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार कारागारमा रहेका ९२३ कैदीबन्दीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५२ सुरक्षाकर्मीले जोखिम मोलेर सुरक्षित स्थानमा सारेका थिए।
बाढीले कारागारको प्रशासनिक भवन, सुरक्षा हाइपोष्ट तथा पर्खालमा क्षति पुर्याउँदै भवनको पहिलो तलासम्म लेदो पसेको अवस्थामा समेत सुरक्षाकर्मीले भागेका ५० कैदीबन्दीलाई पुनः नियन्त्रणमा लिएको प्रधानमन्त्रीले बताएका छन्। कैदीबन्दीको आक्रमणबाट केही सुरक्षाकर्मी घाइते भए पनि उनीहरूले स्थानीय बासिन्दाको समेत ज्यान जोगाएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री साहले बाढीपछि सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत लेदोमा पुरिएको, खानेपानी र आवागमन अवरुद्ध भएको अवस्थामा पनि खेतका आलीलाई बाटो बनाएर टाढाबाट पानी बोकी कैदीबन्दीलाई खुवाउनेदेखि उद्धार तथा सुरक्षाको जिम्मेवारी निरन्तर निर्वाह गरिरहेको बताएका छन्।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त प्रयासमा बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३ सय ९१ जनाको उद्धार गरिएको छ। स्थलमार्ग, हेलिकप्टर तथा आवश्यकताअनुसार आफ्नै काँधमा बोकेर समेत घाइतेलाई अस्पताल पुर्याइएको उनले बताएका छन्।
प्रधानमन्त्रीले शव व्यवस्थापन, प्रभावित क्षेत्रमा महामारी तथा संक्रामक रोग फैलिन नदिन तथा राहत शिविरमा रहेका नागरिकको मनोबल बढाउनसमेत सुरक्षाकर्मी अहोरात्र खटिरहेको बताएका छन्।
बाढीमा सुरक्षाकर्मीसमेत प्रभावित भएको उल्लेख गर्दै प्रधानमन्त्री साहले ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन रहेको बताएका छन्। आफ्ना सहकर्मी गुमाएको पीडाका बीच पनि सुरक्षाकर्मीहरू खोज तथा उद्धारमा निरन्तर खटिरहेको भन्दै उनले उनीहरूको त्यागको प्रशंसा गरेका छन्।
प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रमा हाल ९ हजार २ सय ८७ नेपाली सेना, ७ हजार ९ सय ७५ नेपाल प्रहरी र ४ हजार २ सय ३ सशस्त्र प्रहरी परिचालन भएका छन्।
नेपाली सेनाले नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ तथा फरवार्ड एयर बेस स्थापना गरी उद्धार गरिरहेको छ। रसुवाको धुन्चेमा ट्याक्टिकल हेडक्वार्टर, फरवार्ड मेडिकल टिम र अतिरिक्त एयर बेस सञ्चालनमा रहेको प्रधानमन्त्रीले बताएका छन्। सेनाले विद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धारसँगै बेलीब्रिज निर्माण र सडक खुलाउने कामसमेत अघि बढाएको उनले उल्लेख गरेका छन्।
त्यस्तै, नेपाल प्रहरीले तालिमप्राप्त कुकुरसहित खोज तथा उद्धार, घाइतेको उद्धार, शव व्यवस्थापन, राहत वितरण तथा शान्ति सुरक्षा कायम गर्ने काम गरिरहेको प्रधानमन्त्रीले बताएका छन्।
सशस्त्र प्रहरी बलले गोताखोर, डोरी टोली, ड्रोन स्क्वाड तथा केनाइन टोली परिचालन गरी कठिन भूगोलमा खोज तथा उद्धार गरिरहेको उनले बताएका छन्। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट तथा १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको पनि प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री साहले सुरक्षाकर्मीहरूको त्याग, निष्ठा र अदम्य साहसका कारण संकटको समयमा लाखौँ नागरिकले सुरक्षित महसुस गर्न पाएको बताएका छन्।
“तपाईंहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,” प्रधानमन्त्री साहले भनेका छन्।
संकटका बेला सुरक्षाकर्मीलाई खटिन प्रेरित गर्ने उनीहरूका परिवारप्रति समेत प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेका छन्। साथै, विपद् व्यवस्थापनमा सुरक्षाकर्मीसँगै खटिएका देश तथा विदेशका विज्ञहरूलाई पनि उनले धन्यवाद दिएका छन्।
अन्त्यमा प्रधानमन्त्री साहले राष्ट्रसेवक सुरक्षाकर्मीप्रति सरकार सधैँ कृतज्ञ रहने बताएका छन्।

















