१९ भदौ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीका डिलमा गरिएको अतिक्रमण हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनको समय दिइएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै पोखरी तथा पोखरीका डिलमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो।
सूचनाअनुसार देवान पोखरी (चन्द्र कूप), रुक्मिणी सर, विडाल सर (विराही), गोरही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (जौली), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरो माइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा पोखरीका डिलमा अतिक्रमण गरी संरचना निर्माण गरिएको उल्लेख छ।
समितिका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले राजगुठीअन्तर्गतका पोखरी र डिल क्षेत्रमा अनधिकृत रूपमा संरचना निर्माण गरी भोगचलन गर्दै आएका छन्। सार्वजनिक सम्पत्ति तथा गुठीको जग्गा संरक्षण गर्ने उद्देश्यले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो।
सूचनामा सात दिनभित्र अतिक्रमण नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिइएको छ। यसअघि पनि सरकारले जनकपुरका अतिक्रमित पोखरी तथा डिल खाली गर्न सातदिने सूचना जारी गरेको थियो।
गुठी जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित समितिले जनकपुरका पोखरी, मन्दिर परिसर तथा अन्य गुठी जग्गामा भएका अतिक्रमण चरणबद्ध रूपमा हटाउने योजना अघि बढाएको छ। यस अभियानअन्तर्गत पछिल्लो चरणमा जनकपुरका सात वटा पोखरी अतिक्रमण गरी बनाइएका ६५ घर–टहरा तथा अन्य संरचना डोजर लगाएर हटाइएको थियो।




















