माघ २०, काठमाडौ । — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना बुधबार (२१ माघ)देखि परिचालन हुने भएको छ। निर्वाचन पूर्व सुरक्षा व्यवस्थाअन्तर्गत सेना फिल्ड गस्तीमा निस्कन लागेको हो।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार ‘एकीकृत निर्वाचन सुरक्षा योजना २०८२’ अनुरूप २१ माघदेखि सेना औपचारिक रूपमा परिचालन गरिनेछ।
“हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ। २१ माघबाट निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ,” प्रवक्ता बस्नेतले बताए।
निर्वाचन अवधिभर शान्ति–सुरक्षा कायम राख्ने, संवेदनशील क्षेत्रको निगरानी गर्ने तथा आवश्यक परेमा अन्य सुरक्षा निकायलाई सहयोग पुर्याउने जिम्मेवारी सेनाले निर्वाह गर्नेछ। सेना परिचालनसँगै प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबीच समन्वयमा सुरक्षा घेराबन्दी थप कडा पारिने जनाइएको छ।
सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन बहु-स्तरीय सुरक्षा रणनीति लागू गरेको बताएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न जिल्लामा सुरक्षा संयन्त्रको उपस्थिति र गस्ती बढाइने छ।
प्रतिनिधिसभा निर्वाचनलाई लक्षित सुरक्षा तयारी तीव्र पारिएसँगै निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको सुरक्षा निकायहरूले बताएका छन्।
















