काठमाडौं, माघ १९ — निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन (बालेन्द्र शाह) लाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ। आयोगले आइतबार तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।
आयोगका अनुसार सादा पोसाकका प्रहरी बालेनका पक्षमा मत माग्दै गरेको देखिने श्रव्यदृश्य सामग्री प्राप्त भएपछि पुनः स्पष्टीकरण सोधिएको हो। विशेषगरी निर्वाचन प्रचारप्रसारका क्रममा बालेनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा के–कसो भएको हो भन्ने स्पष्ट पार्न आयोगले लिखित जवाफ मागेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीका अनुसार बालेनसहित थप नौ जनालाई स्पष्टीकरण सोधिएको छ। यसअघि शनिबारसम्म २१ जनासँग स्पष्टीकरण मागिएकामा आइतबार र सोमबार गरी थप नौ जनासँग स्पष्टीकरण मागिएको हो।
यसैक्रममा बाजुरामा रास्वपाका उम्मेदवार हेमराज थापालाई पनि स्पष्टीकरण सोधिएको छ। पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक आयोजनासम्बन्धी विषय जोड्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँविरुद्ध अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको उजुरी परेपछि थापासँग जवाफ मागिएको आयोगले जनाएको छ। साथै आर्थिक स्रोत संकलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्था पालना गरे/नगरेकोबारे पनि स्पष्टीकरण सोधिएको छ। आयोगले दफा २१ (च) र दफा २५ (१) का खण्ड (च) र (ज) बमोजिम तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ।
निर्वाचन उम्मेदवारविरुद्ध भ्रामक वा अमर्यादित सन्देश प्रकाशन–प्रसारण गर्ने व्यक्ति तथा सञ्चारमाध्यमविरुद्ध कारबाहीका लागि आयोगले प्रेस काउन्सिल नेपाललाई समेत पत्राचार गरेको जनाएको छ।
त्यस्तै, सिन्धुपाल्चोक–१ मा प्रतिनिधिसभा निर्वाचन कार्यालय बाहिर दलको निर्वाचन चिह्न पेन्ट गरेर राखिएको उजुरीका आधारमा नेकपालाई पनि स्पष्टीकरण सोधिएको छ। सोही विषयमा उम्मेदवार माधव सापकोटासँग पनि जवाफ माग गरिएको छ। प्रमाणित भए प्रचलित निर्वाचन कानुनअनुसार कारबाही हुन सक्ने आयोगले जनाएको छ।
आयोगले रुद्र गिरी, मंगल प्रजा र अशोक टमानीलाई समेत स्पष्टीकरण सोधेको छ। हालसम्म माग गरिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको सहायक प्रवक्ता जीसीले जानकारी दिए।
















