११ दिनपछि चमत्कार : काजकिरिया चलिरहेकै बेला जीवित भेटिइन् चण्डिका श्रेष्ठ

२० भदौ, नुवाकोट । भोटेकोसी नदीमा आएको भीषण बाढीमा बेपत्ता भएकी चण्डिका श्रेष्ठलाई परिवारले जीवित भेटिने आशा लगभग मारिसकेको थियो। बेपत्ता भएको आठौँ दिनदेखि धार्मिक विधिअनुसार कुशको शव बनाएर परिवारले काजकिरियासमेत सुरु गरिसकेको थियो। तर काजकिरिया चलिरहेकै बेला ११औँ दिनमा चण्डिका जीवितै फेला परेकी छन्।

नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेत्रावती बजारमा बाढी र लेदोले पुरिएको चारतले घरको माथिल्लो तलाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोलीले उनलाई जीवितै उद्धार गरेको हो।

भोटेकोसी नदीमा आएको भीषण बाढीले बेत्रावती बजारका विभिन्न संरचना लेदो, बालुवा र गेग्रानले पुरिएका थिए। चण्डिका रहेको घरसमेत बाढीको भेलमा परेर पुरिएको थियो। ११ दिनसम्म उनको कुनै खबर नआएपछि परिवारले जीवित हुने सम्भावना नरहेको ठानेर काठमाडौंमा कुशको शव बनाई काजकिरिया सुरु गरेको थियो।

तर शनिबार बिहान पुरिएको घरको चौथो तलाबाट गुहार मागेको आवाज सुनिएपछि उद्धार टोली तत्काल परिचालन भयो। नेपाल प्रहरीका एसपी विपिन रेग्मी र सशस्त्र प्रहरीका निरीक्षक सुमन विकको कमान्डमा उद्धारकर्ता टोली घटनास्थल पुगेको थियो।

उद्धार टोलीले लेदो तथा गेग्रान हटाउँदै घरभित्र खोजी गर्दा चण्डिका अत्यन्तै कमजोर अवस्थामा फेला परेकी थिइन्। उनी अर्धचेत अवस्थामा थिइन् भने शरीरमा शक्ति थिएन। उद्धारकर्ताले उनलाई घरबाट बाहिर निकालेपछि तत्काल पानी खुवाएका थिए। चण्डिकाले पानी घुट्क्याएपछि उद्धारकर्ता र स्थानीयमा खुसी छाएको थियो।

चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले परिवारले सबै आशा गुमाइसकेको बताए। “सबैले आश मारेका थियौँ, मेरो मनले चाहिँ कता–कता घरभित्र नै हुनुपर्ने भन्ने लागेको थियो। आज भेटिनुभयो, खुसी लागेको छ,” उनले भने।

चण्डिका नभेटिएपछि परिवारले काजकिरिया गरिसकेको र उनको जीवित उद्धारपछि उनका श्रीमान्समेत भेटिन सक्ने आशा पलाएको श्रेष्ठले बताए।

“नभेटिएपछि आश मारेर कुशको शव बनाएर दाहसंस्कार गरेका थियौँ। सम्धिनी भेटिएपछि कतै सम्धी पनि भेटिनुहुन्छ कि भन्ने आशा पलाएको छ,” उनले भने।

उद्धारलगत्तै चण्डिकालाई हेलिकोप्टरमार्फत त्रिशूली पुर्‍याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइएको छ। उनको हाल उपचार भइरहेको छ।

बाढीपछि ११ दिनसम्म पुरिएको संरचनाभित्र रहेर पनि चण्डिका कसरी जीवित रहिन् भन्ने विषय उद्धारकर्ताका लागि समेत असाधारण बनेको छ।

बाढीले चण्डिकाको घर, गाडी र कैयौँ रोपनी जग्गासहित ठूलो भौतिक क्षति पुर्‍याएको छ। परिवारका अन्य सदस्यसमेत बेपत्ता छन्। चण्डिकाको जीवित उद्धारले परिवारमा खुसी ल्याए पनि बेपत्ता आफन्तको खोजीको पीडा भने कायमै छ।

चण्डिकाका सम्धीका अनुसार केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोमा यात्रु बोकेका पाँचवटा बससमेत बगेका थिए। चण्डिकाको परिवारले त्यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने योजना बनाएको भए पनि बाढीपछि घर, जग्गा र व्यवसायसँग सम्बन्धित सामग्रीमा ठूलो क्षति पुगेको उनले बताए।

११ दिनपछि पुरिएको घरबाट चण्डिकाको जीवित उद्धारले बाढीमा बेपत्ता आफन्तको खोजी गरिरहेका परिवारमा नयाँ आशा जगाएको छ। अस्पतालको शय्यामा चण्डिका उपचाररत रहँदा उनका परिवारका लागि भने अब बेपत्ता आफन्तको खोजीमा नयाँ आशाको प्रतीक्षा सुरु भएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more