सर्वोच्च अदालतका पूर्वन्यायाधीश रणबहादुर बमको हत्या प्रकरणका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

२९ असोज, सर्लाही । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको अभियोग लागेका तथा विभिन्न मुद्दामा फरार रहेका मेघराज भन्ने बाबु थापा सर्लाहीबाट पक्राउ परेका छन्। प्रहरीले उनलाई दुई थान पेस्तोल, १५ राउन्ड गोली र तीन थान म्यागजिनसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा २०८३ असोज २९ गते बागमती नगरपालिका–१ स्थित आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा ४८ वर्षीय थापालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार थापाको साथबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, नाम नखुलेको अर्को एक थान पेस्तोल, तीन थान म्यागजिन, १५ राउन्ड गोली, दुई थान मोबाइल र १७ हजार ११२ रुपैयाँ नगद बरामद गरिएको छ।

प्रहरीका अनुसार थापाविरुद्ध यसअघि हातहतियार तथा खरखजाना, सार्वजनिक शान्तिविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, केही सार्वजनिक अपराध र चोरीलगायतका शीर्षकमा ११ वटा मुद्दा दर्ता भएका छन्। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा ललितपुर जिल्ला अदालतले उनलाई २० वर्ष कैद सजाय तोकेको थियो।

प्रहरीको विज्ञप्तिअनुसार थापा उक्त सजाय भुक्तान गर्न २०७१ पुस १९ गतेदेखि केन्द्रीय कारागार, जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए। तर, जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २३ गते कारागारबाट फरार भएका थिए।

कारागारबाट फरार भएको एक वर्षभन्दा बढी समयपछि पक्राउ परेका थापामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more