‘सदन, सडक र निर्वाचनबाट सरकारलाई घेरौं’ : प्रचण्ड

८ साउन , काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारविरुद्ध वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरू एकजुट भएर राजनीतिक दबाब सिर्जना गर्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको संरक्षणका लागि साझा न्यूनतम कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले वामपन्थी र लोकतान्त्रिक शक्तिबीच सहकार्य गर्दै राष्ट्रिय स्वाधीनताको पक्षमा आन्दोलन सञ्चालन गर्नुपर्ने तथा गरिब, मजदुर, किसान र उत्पीडित समुदायका अधिकारमाथि हुने हस्तक्षेपविरुद्ध जनतालाई संगठित गर्नुपर्ने बताए।
‘साझा न्यूनतम कार्यक्रम आवश्यक छ। राष्ट्रिय स्वाधीनताका लागि कसरी आन्दोलन गर्ने भन्ने विषयमा साझा धारणा बनाउनुपर्छ। जनताको अधिकार खोस्ने प्रयासविरुद्ध जनतालाई संगठित र आन्दोलित गर्नुपर्छ,’ प्रचण्डले भने।
उनले संघर्षलाई सदन र सडक दुवै मोर्चामा सशक्त रूपमा अघि बढाउँदै आगामी निर्वाचनलाई पनि राजनीतिक संघर्षको महत्वपूर्ण माध्यमका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
‘सदनमा लड्ने, सडकमा लड्ने र आगामी निर्वाचनमा पनि लड्ने हो। चारैतिरबाट घेरा हाल्ने हो,’ उनले भने।
प्रचण्डले आफ्नो राजनीतिक संघर्षको शैली अरूभन्दा फरक हुने उल्लेख गर्दै विगतका अनुभवबाट सिकेर वर्तमान परिस्थितिअनुकूल रणनीति निर्माण गर्नुपर्ने बताए।
उनले पछिल्लो ‘जेनजी’ आन्दोलनलाई प्रतिक्रान्तिको प्रयासको संज्ञा दिँदै त्यो सफल हुन नसकेको दाबी गरे। यस्तो अवस्थामा वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य र एकता अझ आवश्यक रहेको उनको भनाइ थियो।
भारतमा निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामाको जन्मोत्सव मनाइएको प्रसंग उल्लेख गर्दै प्रचण्डले त्यसलाई सामान्य घटनाका रूपमा मात्र नहेर्न आग्रह गरे। उनले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक उपलब्धि र संविधानको रक्षाका लागि सबै लोकतान्त्रिक तथा वामपन्थी शक्तिहरूबीच व्यापक एकताको आवश्यकता रहेको दोहोर्‍याए।

  • सम्बन्धित समाचारहरु

    प्रचण्डद्वारा सुनसरी गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाहीको माग

    Read more

    देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, संयम अपनाउन आग्रह

    Read more