पुस २१, बिरगंज । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारीले वीरगंज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्।
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशअनुसार मिति २०८२ साल ०९ महिनाको २१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रअन्तर्गत पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेट तोकिएको छ।
आदेशको उल्लङ्घन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम गर्नका लागि निषेधाज्ञा आवश्यक परेको जनाएको छ।

















