रास्वपाको महाधिवेशनमा अव्यवस्था, ४ हजार प्रतिनिधिमध्ये १,३४१ जनाले मात्रै गरे मतदान

१२ असार , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट नयाँ पदाधिकारी र केन्द्रीय सदस्य चयन भए पनि महाधिवेशनको व्यवस्थापनप्रति प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। महाधिवेशन निर्धारित समयभन्दा लम्बिँदा ठूलो संख्यामा प्रतिनिधि मतदान नै नगरी घर फर्किएको पाइएको छ।
रास्वपाले असार ७ देखि ९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर बन्दसत्र र निर्वाचन प्रक्रिया पटक–पटक प्रभावित भएपछि महाधिवेशन तीन दिन लम्बिएर शुक्रबार मात्रै सम्पन्न भएको हो।
महाधिवेशनमा स्वदेश र प्रवासका गरी ४ हजार १९ प्रतिनिधि सहभागी भए पनि पदाधिकारी चयनका लागि १ हजार ३४१ जनाले मात्रै मतदान गरेका छन्। अर्थात् करिब २ हजार ६७८ प्रतिनिधिले पदाधिकारी निर्वाचनमा मतदान गरेनन्।
पदाधिकारीतर्फ कुल प्रतिनिधिको करिब ३३ प्रतिशतले मात्र मत खसालेका हुन्। प्रवासतर्फबाट ५३ र विद्युतीय प्रणालीमार्फत १ हजार २८८ मत खसेको जनाइएको छ।
यद्यपि, ९९ जना केन्द्रीय सदस्य चयनका लागि भने २ हजार ९५९ मत खसेको थियो, जुन पदाधिकारीतर्फको मतदानभन्दा उल्लेख्य रूपमा बढी हो।
महाधिवेशनमा प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालन र निर्वाचन प्रक्रियासम्म पटक–पटक अवरोध सिर्जना भएको थियो। विशेषगरी जिल्लाबाट छनोट भएर आउनुपर्ने प्रतिनिधि महाधिवेशनस्थल भरतपुरमै चयन गरिएका विषयमा विवाद भएपछि बन्दसत्र समयमै सुरु हुन सकेको थिएन।
महाधिवेशन लम्बिँदै जाँदा व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै धेरै प्रतिनिधि मतदान नगरी फर्किएका कारण रास्वपाको पहिलो महाधिवेशनको व्यवस्थापनमाथि प्रश्न उठेको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more