रास्वपामा गुटबन्दी सह्य हुँदैन, गर्नेहरूलाई कारबाही हुन्छ : रवि लामिछाने

१३ असार, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने स्पष्ट पार्दै त्यस्तो गतिविधिमा संलग्न हुनेमाथि कडा कारबाही हुने चेतावनी दिएका छन्।

प्रथम राष्ट्रिय महाधिवेशनको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै लामिछानेले रास्वपा परम्परागत दलभन्दा फरक चरित्रको राजनीतिक शक्ति भएकाले पार्टीभित्र अस्वस्थ समूहबन्दीलाई कुनै पनि हालतमा सहन नसकिने बताए।

‘यो पार्टीमा गुटबन्दीका लागि कुनै ठाउँ छैन। यदि कसैले पार्टीभित्र गुटको बिउ रोपेको रहेछ भने म त्यसलाई जरैदेखि उखेलेर फाल्छु,’ उनले भने।

लामिछानेले प्रथम महाधिवेशनले रास्वपालाई औपचारिक रूपमा बलियो राजनीतिक दलका रूपमा स्थापित गरेको उल्लेख गर्दै नयाँ पार्टी भएकाले संगठन सञ्चालन र महाधिवेशन व्यवस्थापनका क्रममा केही कमजोरी तथा प्राविधिक त्रुटि भएको स्वीकार गरे। उनले त्यसका लागि महाधिवेशन प्रतिनिधि, नेता तथा कार्यकर्तासँग क्षमायाचना पनि गरे।

फरक–फरक पृष्ठभूमिबाट आएका व्यक्तिहरू साझा उद्देश्यका साथ रास्वपामा आबद्ध भएको उल्लेख गर्दै उनले आगामी दिनमा अझ जटिल चुनौतीहरूको सामना गर्नुपर्ने बताए।

‘हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौँ। त्यसैले हामीले विभिन्न प्रकारका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने।

सभापति लामिछानेले महाधिवेशन सफल बनाउन अहोरात्र खटिएका प्रतिनिधि, नेता, कार्यकर्ता, स्वयंसेवक तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे। महाधिवेशनबाट प्राप्त अनुभव र सिकाइलाई आत्मसात् गर्दै रास्वपालाई आगामी दिनमा थप परिपक्व, व्यवस्थित र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more