राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषाको विस्तारित बैठक सम्पन्न, वैकल्पिक राजनीति अगाडि बढाउने निर्णय

भदौ १३, जनकपुरधाम।राष्ट्रिय मुक्ति पार्टी नेपाल धनुषा जिल्ला समितिको विस्तारित बैठक सोमबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष राजेश चौधरी ‘राजु’को अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं धनुषा जिल्ला प्रभारी डा. राजीव झा विशेष अतिथि रहनुभएको थियो। त्यस्तै, केन्द्रीय सचिव संजय चौधरी, अनुशासन समितिका अध्यक्ष संजय सिंह, प्रवक्ता रमण पाण्डे, विजय यादव, राम जीवन साहलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकले जिल्ला कार्यसमितिलाई हाललाई ५१ सदस्यीय बनाउने निर्णय गर्दै युवा समिति जिल्ला संयोजकमा किशन साहलाई मनोनयन गरेको छ। साथै, एक साताभित्र जिल्ला पदाधिकारीलाई पूर्णता दिने जिम्मेवारी जिल्ला अध्यक्ष राजेश चौधरीलाई दिएको छ।

बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. राजीव झाले नेपाललाई समृद्ध बनाउन स्वदेशवादलाई वैकल्पिक राजनीतिक विचारधारा बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले माक्र्सवाद, लेनिनवाद र माओवादीजस्ता आयातित विचारधाराले देशलाई गरिबीको दलदलमा फसाएको आरोप लगाउँदै स्वदेशी विचारधारा मात्र मुलुकलाई धनी बनाउन सक्ने धारणा राख्नुभयो।

त्यसैगरी, प्रवक्ता रमण पाण्डेले मधेसी, आदिवासी, जनजाति सबैलाई एकजुट हुन आग्रह गर्दै हिन्दी भाषालाई नेपाली सरह मान्यता दिनुपर्ने माग गर्नुभयो। जिल्ला अध्यक्ष राजेश चौधरीले पार्टीलाई आउँदो निर्वाचनमा वैकल्पिक शक्ति बनाउन क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै दलित, मुस्लिम, महिला, आदिवासी, जनजाति सबै समुदायलाई समेट्दै सम्मान दिलाउने वाचा गर्नुभयो।

अनुशासन समितिका अध्यक्ष संजय सिंहले कुनै पनि संगठन सफल बनाउन अनुशासन अपरिहार्य हुने बताउँदै मधेस आन्दोलनका सहिदलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो। केन्द्रीय सचिव संजय चौधरीले नेपालको राज्यसत्ता अझै पनि एकल चरित्रको रहेको बताउँदै ३१ प्रतिशत मधेसी, ३८ प्रतिशत जनजाति र ३१ प्रतिशत खसआर्य जनसंख्याको आधारमा समान सहभागिता सुनिश्चित गरी समावेशी राज्य निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।

बैठकको स्वागत मन्तव्य जिससका पूर्व उपसभापति दीपक झाले राख्नुभएको थियो। अन्त्यमा, जिल्लामा संगठन विस्तार, राजनीतिक अभियानलाई प्रभावकारी बनाउने तथा व्यापक एकताको आवश्यकता रहेको निष्कर्ष निकाल्दै बैठक सम्पन्न गरिएको थियो।

 

 

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more