भदौ १३, जनकपुरधाम।मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। शुक्रबार बिहान सुरु भएको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गर्ने घोषणा गरेका हुन्।
विपक्षी सांसदहरुले २०८२/०८३ को बजेट बिना सहमति बहुमतको बलमा पारित गरिएको, कार्यदल गठनको नाममा सरकारकै प्रतिनिधि राखेर नाटकीयता देखाइएको र समस्या समाधान गर्नुभन्दा अल्पमत–बहुमतको खेल मात्र भएको आरोप लगाए। उनीहरुले, “बहुमतको आधारमा जब बजेट पास भयो भने अब ऐन कानुन बनाउन किन विपक्षीलाई खोजिन्छ ?” भन्दै प्रश्न उठाए।
सांसदहरुले बजेटमा देखिएका अनियमितता, बिचौलिया हाबी, रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुले बैठक अवरुद्ध राख्ने चेतावनी पनि दिए। साथै, पहिला गठन गरिएको संसदीय छानबिन समितिको प्रतिवेदन किन कार्यान्वयन नभएको भन्ने प्रश्न पनि उठाइएको थियो।
यसअघि करिब एक महिनापछि बसेको प्रदेश सभा बैठक हिजो पनि जसपा नेपालका सांसदसहित प्रमुख प्रतिपक्षका सांसदहरुले अवरुद्ध गरेका थिए। उनीहरुले अर्थमन्त्रीको राजीनामा माग गर्दै निरन्तर विरोध जनाउँदै आएका छन्।विपक्षको कडा प्रतिरोधबीच सभामुख मण्डलले अन्ततः बैठक अनिश्चितकालका लागि स्थगित गर्ने घोषणा गरेका छन्, जसले प्रदेश सरकारको आगामी कार्यसूचीमा थप अनिश्चितता निम्त्याएको छ।

















