माघ ३, जनकपुरधाम। औरही गाउँपालिका–हौरुसाहा स्थित सरस्वती युवा क्लबको प्राङ्गणमा पुष ३ गते शनिबार निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता रमेश कुमार अधिकारीको आयोजनामा तथा रेयूकाई एईको मासुनागा आर्खा अस्पतालको सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा आँखासम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो। जसअन्तर्गत निःशुल्क आँखा जाँच, आवश्यक औषधिको निःशुल्क व्यवस्था, मोतियाबिन्दुको निःशुल्क अपरेसन (SICS), अपरेसन गर्नुपर्ने बिरामीका लागि निःशुल्क ल्याब परीक्षणको व्यवस्था गरिएको थियो।
त्यसैगरी अपरेसन पश्चात् बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराइनुका साथै अपरेसन गराएका बिरामीका लागि दुई छाक निःशुल्क भोजनको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।
स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको शिविरबाट सयौँ लाभग्राहीले सेवा लिएको बताइएको छ। आयोजक रमेश कुमार अधिकारीले ग्रामीण भेगका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रम निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।



















