मौसममा सुधार : नेपालबाट वर्षा गराउने न्यूनचापीय प्रणाली बाहिरियो

असोज १९, काठमाडौ । देशभर निरन्तर भइरहेको वर्षाबाट प्रभावित जनजीवनमा अब सुधार आउने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालमा वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली बाहिरिएको जानकारी दिएको छ।

विभागले आज आइतबार दिउँसो २ बजे विज्ञप्ति जारी गर्दै मनसुन कमजोर भइसकेको र देशभरको मौसम क्रमशः सामान्य अवस्थामा फर्किंदै गएको जनाएको हो।

विभागकी प्रवक्ता विभूति पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ,

“वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ।”

उनका अनुसार अहिले मनसुन अन्त्य भइसकेको छैन, तर वर्षा गराउने सक्रिय प्रणाली निष्क्रिय बन्दै गएकोले आगामी केही दिनमा स्थलगत बाढी, पहिरो र जलमग्नताका सम्भावना क्रमशः घट्दै जानेछ। विभागले नागरिकलाई भने अझै केही दिन सतर्क रहन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ,

“यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ।”

गत केही दिनदेखि देशका विभिन्न स्थानमा लगातार वर्षा हुँदा जनकपुरधाम, विराटनगर, रौतहट, बारा, मकवानपुर, चितवनलगायतका क्षेत्रहरूमा जनजीवन प्रभावित भएको थियो। नदी र खोलामा पानीको सतह बढ्दा अनेक स्थानमा बाढीको जोखिम समेत देखा परेको थियो।

मौसमविद्हरूका अनुसार अब मनसुन क्रमशः कमजोर हुँदै केही दिनभित्र दक्षिण–पश्चिमबाट पूर्णरूपमा बाहिरिने सम्भावना छ।

विभागले देशभरका नदी, जलाशय र जोखिम क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखेको जनाएको छ। नागरिकलाई कुनै पनि आकस्मिक स्थिति उत्पन्न भएमा तत्काल स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गर्न समेत अनुरोध गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more