मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा स्वीकृत, नयाँ मुख्यमन्त्री दाबीका लागि प्रदेश प्रमुखको आह्वान

असोज २८, जनक्पुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका छन्। नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार दिएको राजीनामा मिति २०८२ साल असोज २८ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी हुन्।

प्रदेश प्रमुखको कार्यालयबाट जारी सूचनामा भनिएको छ कि सिंहको राजीनामा स्वीकृत भएसँगै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु गरिएको छ।

प्रदेश प्रमुख भण्डारीले बुधबार, मिति २०८२ साल असोज २९ गते साँझ ४:०० बजेसम्म प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कुनै पनि प्रदेश सभा सदस्यले मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन्।

यो आह्वानसँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरणका लागि राजनीतिक दौडधूप सुरु भएको छ। सत्ता गठबन्धनमा रहेका दलहरू—जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतबीच छलफल तीव्र भइरहेको बताइन्छ।

स्रोतका अनुसार, प्रदेशमा सरकार गठनका लागि बहुमतका अंक सुनिश्चित गर्न मुख्य दलहरूबीच शक्ति सन्तुलनका विषयमा अन्तर्क्रिया जारी छ। यसबीच नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केही सांसदहरू निर्णायक भूमिकामा रहने सम्भावना देखिएको छ।

मुख्यमन्त्री सिंहले आन्तरिक असहमति, केन्द्र–प्रदेश सम्बन्धमा देखिएको असन्तुलन र गठबन्धनभित्रको असमझदारीका कारण राजीनामा दिएको बताइएको छ। उनले राजीनामा बुझाउँदै भनेका थिए, “मधेशको हित र विकासका लागि सुशासन आवश्यक छ, त्यसका लागि नयाँ नेतृत्वलाई अवसर दिनु उचित ठानेको छु।”

अब प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानमा उल्लिखित समयसीमाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछिन्। निर्धारित समयभित्र दाबी पेश नभएमा संविधानको धारा १६८ को अर्को उपधारा अनुसार अर्को वैकल्पिक प्रक्रिया सुरु हुनेछ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more