१८ फागुन , जनकपुरधा। धार्मिक आस्था र परम्पराको प्रतीक मानिने मिथिला मध्यमा परिक्रमामा सहभागी साधुसन्त, महन्त तथा हजारौँ श्रद्धालुहरू पुनः जनकपुरधाम फर्किएका छन्। करिब पन्ध्र दिनसम्म नेपाल–भारतका विभिन्न धार्मिक स्थलको पदयात्रा पूरा गरी उनीहरू जनकपुर आइपुगेका हुन्।
परम्पराअनुसार मिथिला क्षेत्रका पवित्र तीर्थस्थलहरूको भ्रमणपछि श्रद्धालुहरू अन्तिम चरणका लागि जनकपुरधाममा भेला हुने चलन छ। यस वर्षको परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रहेको आयोजकहरूले जनाएका छन्। परिक्रमाका क्रममा सुरक्षा व्यवस्था कडा पारिनुका साथै स्थानीय तह र प्रशासनले आवश्यक सहजीकरण गरेका थिए।
श्रद्धालुहरू आज विश्राम गरी भोलि बिहानैदेखि अन्तर्गृह परिक्रमा गर्ने कार्यक्रम रहेको छ। अन्तर्गृह परिक्रमा सम्पन्न भएसँगै यस वर्षको मिथिला मध्यमा परिक्रमा विधिवत रूपमा समापन हुनेछ। अन्तर्गृह परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ समेत भनिन्छ। परिक्रमा सडक तथा प्रमुख मन्दिरहरूमा भोलि उल्लेखनीय भीड हुने अनुमान गरिएको छ।
जनकपुर फर्किएका परिक्रमा यात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत विभिन्न स्थानमा बास बसेका छन्। रात्री विश्रामपछि भोलि अन्तर्गृह परिक्रमा र पर्सि जनकपुरधाममा होली पर्व मनाउने कार्यक्रम रहेको छ।
मिथिलाको ‘महाकुम्भ’का रूपमा परिचित १५ दिने मध्यमा परिक्रमा हनुमान नगर, कल्यानेश्वर, गिरिजा स्थान, मठिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड, कञ्चनवन, धनुषाधाम, सतोखर, औरही, करुणा, विसौल तथा जनकपुरधामसहित करिब १ सय ३३ किलोमिटर भू–भागको पदयात्रा समेट्छ।
परिक्रमाका कारण जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा आर्थिक गतिविधिमा उल्लेखनीय चहलपहल देखिएको छ। होटल, व्यापार तथा यातायात क्षेत्रमा समेत गतिशीलता बढेको स्थानीय व्यवसायीहरू बताउँछन्।
सदियौँदेखि निरन्तर सञ्चालन हुँदै आएको मिथिला मध्यमा परिक्रमा नेपाल–भारतबीचको सांस्कृतिक तथा धार्मिक सम्बन्ध सुदृढ गर्ने परम्पराका रूपमा स्थापित छ। भोलिको अन्तर्गृह परिक्रमासँगै सम्पूर्ण धार्मिक अनुष्ठान सम्पन्न भएपछि श्रद्धालुहरू आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।



















