१२ बैशाख , जनकपुरधाम। मिथिलाञ्चल क्षेत्रमा आज श्रद्धा र भक्तिपूर्वक जानकी नवमी तथा जानकी जन्म महोत्सव मनाइँदै छ। आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार हरेक वर्ष यो पर्व विशेष रूपमा मनाउने गरिन्छ।
जानकी नवमीका अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर तथा लक्ष्मण मन्दिरलगायतका मठ–मन्दिरहरूमा पूजा–आराधना गर्ने श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ।
यसै अवसरमा दुधमती नदीमा शाही स्नान तथा बेलुका दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने भएको छ। धार्मिक विधि–विधान अनुसार पूजापाठ र प्रवचनका कार्यक्रमहरू पनि जारी छन्।
विगतका वर्षहरूमा औपचारिकतामा सीमित रहने यो पर्व यस वर्ष भने विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ। सीताको जन्मोत्सवको अवसरमा जानकी मन्दिरलाई नवदुलहीझैँ सिंगारिएको छ, जसले जनकपुरधामको धार्मिक माहोललाई अझ आकर्षक बनाएको छ।
जानकी नवमीमा सहभागी हुन तथा पूजापाठ गर्न नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटकहरू जनकपुरधाम आएका छन्।


















