मधेशी भएकै कारण अपमानित भएँ’ : अभिनेत्री काजल कर्णको नेपाली फिल्म उद्योगमाथि गम्भीर आरोप

२६ असार , काठमाडौ ।  अभिनेत्री काजल कर्णले नेपाली फिल्म ‘चिरञ्जिवी भवः’ को छायांकनका क्रममा आफूले मधेशी भएकै कारण विभेद, अपमान र मानसिक दुर्व्यवहार भोग्नुपरेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमा सार्वजनिक खुला पत्रमार्फत कर्णले फिल्मको सेटमा आफूलाई बारम्बार ‘मधेशी’ भनेर होच्याइएको, अपमानजनक टिप्पणी गरिएको, जानीजानी अनुहारमा कालो मेकअप लगाइएको तथा कलाकारभन्दा मजदुरसरह व्यवहार गरिएको दाबी गरेकी हुन्।

उनले फिल्ममा अनुबन्धित हुँदा निकै उत्साहित भए पनि सुरुदेखि नै आफूलाई आवश्यक सहयोग नदिइएको, आफ्नै खर्चमा पोशाक र यातायातको व्यवस्था गर्न बाध्य पारिएको तथा सेटमा पटक–पटक अपमानित गरिएको उल्लेख गरेकी छन्।

कर्णका अनुसार स्क्रिप्टमा नभएका दृश्य जबर्जस्ती गराइयो, फोहोर उठाउने र कुचो लगाउने दृश्यमा अभिनय गर्न लगाइयो तथा पारिश्रमिक माग्दा बेवास्ता गरियो। उनले पछि कुनै पूर्वजानकारीबिनै आफूलाई फिल्मबाट हटाएर अर्की कलाकारलाई राखिएको पनि दाबी गरेकी छन्।

उनले निर्देशक, प्रोडक्सन टिम, मेकअप कलाकार तथा अन्य केही सदस्यबाट आफ्नो मधेशी पहिचान र वर्णलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको आरोपसमेत लगाएकी छन्।

कर्णले यो घटना आफ्नो व्यक्तिगत पीडा मात्र नभई नेपाली फिल्म उद्योगमा मधेशी कलाकारले भोग्नुपर्ने विभेदको उदाहरण भएको बताउँदै सम्बन्धित पक्षसँग जवाफदेहिता र निष्पक्ष छानबिनको माग गरेकी छन्।

यद्यपि, कर्णले लगाएका आरोपबारे फिल्म ‘चिरञ्जिवी भवः’ का निर्देशक, निर्माता वा अन्य सम्बन्धित पक्षबाट हालसम्म सार्वजनिक प्रतिक्रिया आएको छैन।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more