३ भदौ, काठमाडौ। सरकारले बिजुलीको महसुल घटाउने तयारी तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल दर पुनरावलोकनका लागि समिति गठन गरेसँगै उपभोक्ता तथा उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने गृहकार्य अघि बढाएको हो।
प्राधिकरणले गत १३ साउनमा सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल पुनरावलोकन समिति गठन गरेको थियो। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञका प्रतिनिधि सदस्य छन्।
समितिको बैठक आज अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ। बैठकमा विद्युत्को महसुल कसरी घटाउन सकिन्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ।
समितिका संयोजकसमेत रहेका प्राधिकरणका सञ्चालक समिति सदस्य शाहीका अनुसार वर्षायाममा उत्पादन बढेर विद्युत् खेर गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक विद्युत् खपत बढाउने उद्देश्यले महसुल पुनरावलोकन गर्न लागिएको हो।
उनका अनुसार वर्षायाममा विद्युत् खेर जाँदा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरेको छ। त्यसलाई न्यूनीकरण गर्न ‘सिजनल ट्यारिफ’ लागू गरी वर्षायाममा उपभोक्ता तथा उद्योगलाई सस्तो दरमा विद्युत् उपलब्ध गराउने तयारी गरिएको छ।
उद्योगलाई समेत सहुलियत दरमा विद्युत् उपलब्ध गराउने विषयमा छलफल भइरहेको शाहीले बताए। वर्षायाममा विद्युत् महसुल सस्तो भएपछि उद्योगले उत्पादन गर्ने वस्तुको मूल्यसमेत घटाएर उपभोक्तालाई त्यसको लाभ दिन सक्ने विषयमा समेत समन्वय भइरहेको उनको भनाइ छ।
‘सिजनल ट्यारिफ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,’ शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छन् भन्ने विषयमा छलफल भएको छ। हामी छिटै निर्णय गर्छौं।’
सरकारले विद्युत्मा कर बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई राहत दिने उपायका रूपमा महसुल पुनरावलोकनको तयारी अघि बढाएको हो। समितिको सुझावका आधारमा विद्युत्को नयाँ महसुल संरचना तथा सिजनल ट्यारिफबारे निर्णय गरिने जनाइएको छ।



















