कार्तिक ७, काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शुक्रबार बिहान प्रधानमन्त्री सुशीला कार्कीलाई भेटी हालैको २३ गतेको घटनाबारे सिधा र कडा सन्देश दिएका छन्।
बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेका मेयर शाहले सो घटनाका मुख्य जिम्मेवारका रूपमा चिनिएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने माग राखेका हुन्।
प्रधानमन्त्री कार्कीलाई भेटेपछि बाहिर निस्कँदै गर्दा बालेनले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन्, “कानून सबैका लागि समान हो भने अपराधी जोसुकै होस्, कारबाही हुनैपर्छ। नसक्ने भए कुर्सीमा बस्ने कुनै औचित्य रहँदैन।”
प्रधानमन्त्री कार्कीसँग करिब आधा घण्टा छलफल भएको स्रोतले जनाएको छ। भेटमा बालेनले २३ गते काठमाडौंका विभिन्न ठाउँमा भएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा गरिएको क्षतिलाई गम्भीर अपराधका रूपमा चित्रण गर्दै त्यसका मुख्य योजनाकारहरूलाई किन अहिलेसम्म पक्राउ गर्न सकिएन भन्ने प्रश्न गरेका थिए।
मेयर शाहले प्रधानमन्त्रीलाई भनेका छन्, “सरकार निष्पक्ष हुनुपर्छ, अपराधीलाई राजनीतिक रंग दिएर बचाउन खोज्ने काम नगरियोस्। राजधानीमा अराजकता फैलाउनेहरूलाई कुनै हालतमा छुट दिनु हुँदैन।”
प्रधानमन्त्री सुशीला कार्कीले बालेनको कुरा ध्यानपूर्वक सुनेकी र विषय गम्भीर भएकाले आवश्यक कानूनी प्रक्रिया अघि बढाउने बताएको स्रोतले जनाएको छ। तर उनले तत्काल कुनै निर्णयबारे सार्वजनिक प्रतिक्रिया नदिएको बुझिएको छ।
२२ र २३ गतेका घटनापछि काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता कायम गरिएको छ। सो क्रममा प्रहरीले सयौं व्यक्तिलाई पक्राउ गरेको भए पनि मुख्य राजनीतिक नेतृत्वविरुद्ध हालसम्म कारबाही नहुँदा जनआक्रोश बढ्दो छ।
राजधानीका नागरिक र सामाजिक सञ्जालमा समेत मेयर बालेनको आजको कदमलाई “साहसिक र निर्भीक पहल” का रूपमा हेरिएको छ। धेरैले “राजधानीका जनप्रतिनिधिले बोल्नै पर्ने बेला बोले” भन्दै उनको समर्थन गरेका छन्।
यसअघि पनि बालेन शाहले संघीय सरकारका निर्णय र प्रशासनिक उदासीनताविरुद्ध सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन्। तर यो पहिलोपटक हो, जब उनले प्रधानमन्त्रीलाई भेटेर ठाडै राजनीतिक हस्तक्षेपविरुद्ध कडा चेतावनी दिएका हुन्।
प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले भने औपचारिक रूपमा भेटबारे कुनै टिप्पणी गरेका छैनन्। तर स्रोतका अनुसार बालेनको भेटपछि सुरक्षा र कानूनी निकायका प्रमुखहरूलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाइसकेकी छिन्।
सरकारले अब घटनाबारे थप अनुसन्धान अघि बढाउने तयारी गरिरहेको बताइएको छ। मेयर शाह भने राजधानीमा कानूनको शासन र जवाफदेही नेतृत्वका लागि आफू अन्तिमसम्म बोलिरहने दृढता व्यक्त गर्दै बालुवाटारबाट निस्किएका थिए।
















