७ कार्तिक, जनकपुरधाम| जनकपुरधाममा पछिल्लो समय बढ्दै गएको ट्राफिक नियम उल्लङ्घन र लापरबाहीपूर्ण सवारी सञ्चालन नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरोमाईलले कडा निगरानी सुरू गरेका छन्।
प्रहरीले विशेष गरी युवापुस्ता, विशेषतः “GEN-Z” समूहका मोटरसाइकल चालकहरूबीच हेल्मेट नलगाउने, सवारीको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, मादक पदार्थ सेवन गरी सवारी सञ्चालन गर्ने, अत्यधिक गतिमा सवारी चलाउने र ट्राफिक प्रहरीसँग वादविवाद गर्ने घटनामा वृद्धि भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यस्ता गैरकानूनी गतिविधि दोहोरिएमा कानुनी कारबाही अनिवार्य हुने चेतावनी दिइएको छ। प्रहरीको भनाइ अनुसार ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले सबै नागरिकलाई सचेत रहन र नियमअनुसार सवारी चलाउन अनुरोध गरिएको छ।
प्रहरीले नागरिकहरूलाई सवारी सञ्चालनका क्रममा ट्राफिक नियमको पालनासँगै सुरक्षाको पक्षमा सचेत रहन र ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन आग्रह गरेको छ। साथै, ट्राफिक व्यवस्थापन र गैरकानूनी गतिविधि नियन्त्रणका लागि आवश्यक सुझाव तथा सूचना दिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

















