जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने युवाहरु धमाधम पक्राउ

७ कात्तिक, काठमाडौं | हालैको जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले तीव्र गतिमा पक्राउ गरी कानुनी कारबाही अघि बढाइरहेको छ। आन्दोलन सुरु भएयता काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै १३२ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये केहीमाथि कर्तव्य ज्यान, लुटपाट, हातहतियार खरखजना, आपराधिक उपद्रव र अभद्र व्यवहारजस्ता मुद्दा चलाइँदैछ।

काठमाडौंमा सबैभन्दा बढी पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हालसम्म ९८ जना पक्राउ परेका छन्। तीमध्ये ६ जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ, जसमा ४ जना प्रहरी हत्या अभियुक्त र २ जना आपराधिक उपद्रवमा संलग्न छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र विभिन्न प्रहरी वृत्तहरूको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

अझै हिरासतमा २२ जना
एसपी भट्टराईका अनुसार अहिले पनि जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने २२ जना हिरासतमा छन्। केहीलाई हाजिरी जमानीमा रिहा गरिएको भए पनि उनीहरूमाथि पनि मुद्दा दर्ता हुनेछ।
यसबाहेक आन्दोलनकै क्रममा कारागारबाट फरार भएका १३६ जना कैदीलाई समेत पुनः पक्राउ गरिएको छ।

ललितपुर र भक्तपुरमा पनि पक्राउ
ललितपुर प्रहरीले हालसम्म २४ जना पक्राउ गरेको छ। तीमध्ये हतियारसहित पक्राउ परेका एक जना र लुटपाटमा संलग्न एक भारतीय नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन्।
भक्तपुर प्रहरीले पनि १० जनालाई पक्राउ गरेको छ, तर सबैलाई हाजिरी जमानीमा रिहा गरिएको छ।

प्रहरी हत्या अभियोगमा चार जना जेलमा
आन्दोलनका क्रममा प्रहरी असई मिलन राय, जवान उत्तम थापा र हवल्दार अमृत गुरुङ मारिएका थिए। ती घटनामा संलग्न चार जनामाथि मुद्दा दर्ता भई उनीहरू पुर्पक्षका लागि कारागार पठाइएका छन्।

आन्दोलनमा आपराधिक घुसपैठ
प्रहरी अनुसन्धानले जेनजी आन्दोलनमा आपराधिक पृष्ठभूमिका र विवादास्पद व्यक्तिहरू समेत संलग्न रहेको देखाएको छ। ‘टीओबी’ समूहका सदस्य तेन्जिन दावा तामाङ नक्कली नागरिकता र शंकास्पद गतिविधिसहित पक्राउ परेका छन्।

त्यसैगरी, सिंहदरबारको मुख्य गेटमा ‘एसएलआर’ हतियार समातेका राजु परियार आठ आपराधिक मुद्दाका अभियुक्त रहेको पत्ता लागेको छ।

घर र बैंक लुटपाटसम्मका घटना
जेनजी आन्दोलनका क्रममा विभिन्न नेताहरूका घरमा चोरी र बैंक लुटपाटका घटनाहरू पनि भएका छन्। पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरबाट ६४ लाख मूल्यका सामान लुटिएको थियो भने राष्ट्रिय वाणिज्य बैंकबाट ३८ करोडभन्दा बढी मूल्यका सुन–रकम लुटिएको प्रहरीले जनाएको छ।

विदेशी र अपराधी पृष्ठभूमिका व्यक्ति पनि संलग्न
प्रहरी वृत्त जनसेवामा आगजनी गर्ने क्रममा भारतीय नागरिकहरू पनि संलग्न रहेका थिए। सोही आरोपमा दुई भारतीय पक्राउ परेका छन्।
त्यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गर्ने व्यक्ति नेकपा एमाले निकट आपराधिक पृष्ठभूमिका रहेको खुलासा भएको छ।

सम्बन्धित समाचारहरु

हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

Read more

सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

Read more