असोज २५, काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी (GenZ) आन्दोलनबाट अघि आएका युवाहरूलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन्। स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सूचीमा विभिन्न पृष्ठभूमिबाट आएका चार युवाहरूलाई समावेश गर्ने निर्णय भएको छ, जसले सरकारमा नयाँ सोच र युवा ऊर्जाको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद् विस्तारका क्रममा निम्न व्यक्तिहरूलाई जिम्मेवारी दिने तयारी भएको बताइएको छः
गणपतिलाल श्रेष्ठ — संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री
श्रेष्ठ देशका सम्पदाहरू जोगाउने अभियान्ता हुन्। उनी सांस्कृतिक सम्पदाको संरक्षण र पहिचानमूलक पर्यटन विकासका लागि लामो समयदेखि अभियान चलाउँदै आएका छन्।
बब्लु गुप्ता — युवा तथा खेलकुद मन्त्री
गुप्ताले कोभिड महामारीका समयमा नि:शुल्क खाना अभियान सञ्चालन गरेका थिए र कपडा बैंक स्थापना गरी हजारौं विपन्न नागरिकलाई सहयोग पुर्याएका थिए। सामाजिक सेवाबाट चर्चित बनेका गुप्तालाई युवा सशक्तीकरणको प्रतीकका रूपमा हेरिएको छ।
रामजी राम — स्वास्थ्य तथा जनसंख्या मन्त्री
रौतहटका पहिलो चमार समुदायका डाक्टरका रूपमा परिचित रामजी राम लामो समयदेखि स्वास्थ्य सेवामा समान पहुँचका लागि अभियान चलाउँदै आएका छन्। उनको मन्त्री नियुक्तिले समावेशीता र सामाजिक न्यायप्रतिको सरकारको प्रतिबद्धता देखाउँछ।
टासी ल्हाजोम — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
हुम्लाकी जलवायु परिवर्तन अभियानकर्मी ल्हाजोम हिमाली क्षेत्रका आवाजका रूपमा परिचित छिन्। उनले जलवायु न्याय र लैङ्गिक समानताको पक्षमा अन्तर्राष्ट्रिय मञ्चहरूमा समेत आवाज उठाउँदै आएकी छिन्।
प्रधानमन्त्री कार्कीले यो विस्तारमार्फत नयाँ पुस्ताको सोच, समावेशी दृष्टिकोण र सामाजिक परिवर्तनका मूल्यहरूलाई सरकारको नीति निर्माणमा समेट्ने प्रयास गरेको बताइन्छ। साथै, जेनजी आन्दोलनमा सक्रिय अन्य युवाहरूलाई प्रधानमन्त्रीको सचिवालयमा विशेष सल्लाहकार वा सहायकका रूपमा समावेश गर्ने तयारी पनि भइरहेको स्रोतले जनाएको छ।
सरकारका निकट स्रोतका अनुसार यो कदमले युवापुस्ता र राज्यबीचको दूरी घटाउने, नयाँ राजनीतिक संस्कृतिको सुरुवात गर्ने र सुशासनका एजेन्डा कार्यान्वयनमा सशक्त योगदान दिने अपेक्षा गरिएको छ।प्रधानमन्त्री कार्कीले निकट सहयोगीहरूसँगको छलफलमा भनेकी छन्, “देशलाई नयाँ सोच र साहस चाहिएको छ। अब निर्णय–निर्माणमा युवाहरूको स्थान केन्द्रमा हुनैपर्छ।”
















