शिक्षक नियुक्तिमा घुस लिँदै गर्दा प्रधानाध्यापकसहित दुई जना पक्राउ

असोज २५, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिने क्रममा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

प्रधानाध्यापक साहले विद्यालयमा आज (शनिबार) हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा उम्मेदवारलाई पास गरिदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ। यस क्रममा उनका सहयोगी अरविन्द प्रकाश साह पनि अख्तियारको फन्दामा परेका छन्।

अख्तियार स्रोतका अनुसार वीरगन्जका एक शिक्षकले परीक्षाका लागि फारम भरेका थिए। उनीसँग रकम मागिएको सूचनाको आधारमा अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई साढे चार लाख रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको हो। सोही क्रममा पक्राउ परेका अरविन्दको बयानका आधारमा टोलीले धरहरी पुगेर प्रधानाध्यापक सञ्जय प्रसाद साहलाईसमेत नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जनाएको छ।

रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि घटनाको पुष्टि गर्दै भने, “शिक्षक नियुक्ति प्रक्रियामा घुस लिएको भन्ने उजुरीका आधारमा अख्तियारले कारबाही गरेको हो। विस्तृत विवरण अनुसन्धानपछि मात्रै थाहा हुनेछ।”

शिक्षा क्षेत्रमा बढ्दो घुस–प्रथा र सिफारिस–संस्कृतिले योग्य र मेहेनती शिक्षकहरू पछाडि पर्ने अवस्था सिर्जना भइरहेको बेला प्रधानाध्यापक स्तरकै व्यक्ति यस्तो भ्रष्टाचारमा संलग्न हुनु शिक्षा प्रणालीका लागि गम्भीर चिन्ताको विषय बनेको छ।

अख्तियारका अनुसार प्रारम्भिक अनुसन्धानपछि उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कानुनी प्रक्रिया अघि बढाइनेछ।

 

  • सम्बन्धित समाचारहरु

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more