पुस २८, काठमाडौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेको संकेत दिएका छन्। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मानिने झापा–५ बाट चुनाव लड्दै राष्ट्रिय राजनीतिमा निर्णायक प्रवेश गर्ने रणनीतिमा बालेन रहेको देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका कार्यवाहक सभापति प्रकाश पाठकको नेतृत्वमा आएको टोलीसँग काठमाडौँमा भएको भेटघाटका क्रममा मेयर शाहले झापा–५ को राजनीतिक अवस्था, जनमतको स्थिति तथा संगठनात्मक सम्भावनाबारे गम्भीर चासो राख्दै सोही क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट इच्छा व्यक्त गरेको स्रोतले जनाएको छ।
रास्वपा झापाले यसअघि गरेको आन्तरिक सर्वेक्षणमा ‘घन्टी’ चुनाव चिह्नप्रति उल्लेखनीय समर्थन देखिएको दाबी गर्दै बालेनको सम्भावित उम्मेदवारीले झापा मात्र होइन, समग्र कोशी प्रदेशमै सकारात्मक राजनीतिक तरंग ल्याउने विश्वास व्यक्त गरेको छ। विशेषतः युवाहरू, स्वतन्त्र मतदाता तथा परम्परागत राजनीतिबाट असन्तुष्ट वर्गमा बालेनप्रति आकर्षण बढ्दै गएको रास्वपाको निष्कर्ष छ।
एमाले अध्यक्ष ओलीको बलियो पकड मानिने झापा–५ मा बालेनको प्रवेशले चुनावी प्रतिस्पर्धा तीव्र बनाउने र परिणाम उल्टिन सक्ने आँकलन रास्वपा झापाको छ। यदि बालेनले सो क्षेत्रबाट उम्मेदवारी दिएमा त्यसले स्थापित राजनीतिक नेतृत्वलाई सीधा चुनौती दिने र राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण सिर्जना गर्ने विश्लेषण हुन थालेको छ।
यद्यपि बालेन शाहले उम्मेदवारी, पार्टीगत सहकार्य र भावी राजनीतिक यात्राबारे औपचारिक घोषणा भने गरिसकेका छैनन्। रास्वपाको केन्द्रीय नेतृत्वबाट पनि यस विषयमा आधिकारिक धारणा आउन बाँकी छ। तर पछिल्ला भेटघाट र गतिविधिले बालेनलाई भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा उभ्याउने योजनाबद्ध तयारी भइरहेको संकेत स्पष्ट देखिएको छ।

















