पुस २६, काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र शाहले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जारी सन्देशमा देशको वर्तमान अवस्था र भविष्यप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। नारायणहिटी राजदरबार छोडेको करिब दुई दशक बितिसक्दा पनि देशले निरन्तर संकट भोगिरहेको उल्लेख गर्दै उनले अवस्था झन् जटिल बन्दै गएको बताएका छन्।
सन्देशमा राजा ज्ञानेन्द्रले पहिले देश नबन्ने चिन्ता रहेको स्मरण गराउँदै अहिले त देश नै नरहने हो कि भन्ने अवस्था देखिन थालेको टिप्पणी गरेका छन्। राजनीतिक अस्थिरता, सुशासनको अभाव र राष्ट्रिय एकतामा आएको कमजोरीले मुलुकलाई गम्भीर मोडमा पुर्याएको उनको संकेत छ।
उनले पृथ्वी नारायण शाहले देखाएको राष्ट्रिय एकता, स्वाधीनता र समृद्धिको मार्गलाई स्मरण गर्दै वर्तमान पुस्ताले त्यसबाट शिक्षा लिनुपर्ने आवश्यकता औंल्याएका छन्। देशको पहिचान, अस्तित्व र भविष्य जोगाउन सबै नेपाली एकताबद्ध हुनुपर्ने सन्देश पनि उनले दिएका छन्।



















