१५ चैत , काठमाडौ । नेकपा एमालेका सचिव र पुर्व मन्त्री महेश बस्नेत ले आफूलाई पक्राउ गर्ने तयारी भइरहेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् ।
बस्नेतले Facebook मा लेख्दै आफ्नो गिरफ्तारीको प्रयास केपी शर्मा ओली विरुद्ध भइरहेको आन्दोलन कमजोर पार्ने उद्देश्यले गरिएको दाबी गरेका छन् ।
उनले तीन वर्षअघि एक ‘फेक’ व्यक्तिलाई अगाडि सारेर आफूविरुद्ध झुट्टा जाहेरी दर्ता गरिएको र सो विषय प्रहरी अनुसन्धानबाटै फर्जी प्रमाणित भइसकेको उल्लेख गरेका छन् । साथै, उक्त मुद्दामा उच्च अदालत पाटन मा दायर रिटसमेत खारेज भइसकेको उनको भनाइ छ ।
बस्नेतका अनुसार सोही विषयमा पुनः पूरक जाहेरी दर्ता भई मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि तेस्रो पटक नक्कली जाहेरीमार्फत आफूलाई पक्राउ गर्ने योजना बनाइएको छ । उनले यसलाई ‘मिडिया ट्रायल’ मार्फत बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् ।
यसै क्रममा उनले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाउँदै बालेन्द्र शाह नेतृत्वको सरकार तथा गृहमन्त्री सुदन गुरुङ लाई जिम्मेवार ठहर गरेका छन् ।
बस्नेतले आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने प्रचार पूर्ण रूपमा भ्रामक रहेको दाबी गर्दै यस्ता हल्लाबाट जनमत भ्रमित पार्ने प्रयास भइरहेको बताएका छन् ।



















