२८ माघ, जनकपुरधाम। धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको समर्थनमा ६० भन्दा बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
बुधबार जनकपुरस्थित ‘निधि निवास’ मा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रसँग आबद्ध युवाहरूलाई निधिले पार्टीमा स्वागत गरेका हुन्। नवप्रवेशीहरूलाई माला पहिर्याउँदै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले युवाहरूलाई परिवर्तनका संवाहक बन्न आग्रह गरे।
“आजको पुस्ता प्रविधि र नयाँ सोचले सुसज्जित छ। कांग्रेसभित्र युवा ऊर्जा र अनुभवको संगम आवश्यक छ। तपाईंहरूको आगमनले पार्टी मात्र होइन, लोकतान्त्रिक आन्दोलनलाई पनि नयाँ उचाइ दिनेछ,” निधिले भने।
पार्टी प्रवेश गर्ने युवाहरूले नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहास तथा वर्तमानमा गगन थापाजस्ता नेताहरूले अघि सारेको समृद्धिको दृष्टिकोणबाट आफूहरू प्रभावित भएको बताएका छन्।
यस पार्टी प्रवेशलाई आगामी निर्वाचनका सन्दर्भमा धनुषा तथा समग्र मधेस प्रदेशमा कांग्रेस संगठन सुदृढ हुने संकेतका रूपमा हेरिएको छ। तीन दिनअघि पनि केही युवा विद्यार्थी ‘निधि निवास’मै आयोजित कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका थिए।
















