पुस २८, काठमाडौ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुक गम्भीर संवैधानिक र राजनीतिक संकटमा रहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध, संगठित र सुदृढ बनाउँदै अघि बढ्न हार्दिक अपिल गरेका छन्।
प्रतिनिधिसभा विघटनपछि देशमा अन्योल र अनिश्चितताको अवस्था सिर्जना भएको उल्लेख गर्दै खड्काले आगामी फाल्गुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमार्फत संविधानलाई पुनः लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्नु अपरिहार्य रहेको बताएका छन्।
खड्काले जारी गरेको अपिलमा नेपाली कांग्रेसले विगतका विभिन्न कठिन कालखण्डमा परिस्थितिको सही मूल्यांकन गर्दै आफ्नो नेतृत्वमा देशलाई निकास दिएको इतिहास रहेको स्मरण गराएका छन्। राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित कांग्रेसको काँधमा पुनः एकपटक ऐतिहासिक जिम्मेवारी आएको उनको भनाइ छ।
उनले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि आगामी २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीति र नेतृत्वमा आवश्यक परिमार्जन तथा सहज परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित रहेको उल्लेख गर्दै अहिलेको मुख्य दायित्व निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।
कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहसम्मका पार्टी पदाधिकारी तथा सदस्य, भ्रातृ र शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबैलाई पार्टीभित्र देखिएको असहज अवस्थाको अन्त्य गर्दै एकताका साथ अघि बढ्न आग्रह गरेका छन्।
यसै क्रममा उनले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई सचेत गराउँदै वर्तमान विषम परिस्थितिमा नेपाली कांग्रेसले जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारेका छन्।

















