कार्तिक ९, काठमाडौ । व्यवसायी दुर्गा प्रसाई योजनाबद्ध रूपमा अराजकता मच्चाउन खोजिरहेको सरकारको निष्कर्ष छ। प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा शनिबार साँझ बालुवाटारमा बसेको उच्चस्तरीय सुरक्षा बैठकले प्रसाईका पछिल्ला गतिविधिहरू गम्भीर र उद्देश्यपूर्ण रहेको निष्कर्ष निकालेको हो। बैठकमा प्रधानमन्त्रीसँगै गृह, रक्षा, कानुन, सूचना तथा सञ्चार मन्त्रीहरू, मुख्य सचिव, प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू सहभागी थिए।
बैठकमा प्रस्तुत गरिएको सुरक्षा प्रतिवेदनमा दुर्गा प्रसाई पछिल्ला दिनमा विभिन्न ठाउँमा भड्काउने भाषण र आन्दोलनको तयारी गर्दै जनतालाई उत्तेजित पार्ने प्रयासमा लागेको निष्कर्ष निकालिएको छ। सरकारले यसलाई सामान्य असन्तोष नभई योजनाबद्ध अराजक गतिविधि ठहर गरेको छ।
बैठकले प्रसाईलाई संवादको माध्यमबाट नियन्त्रण गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएको छ। प्रधानमन्त्री कार्कीले सबै पक्षसँग समन्वय गरेर प्रसाईका माग बुझ्न र राजनीतिक संवादमार्फत समस्या समाधान गर्न निर्देशन दिएकी छन्। तर, प्रसाईले सहमतिपूर्ण बाटो नअपनाई आन्दोलनमै उत्रिने हो भने राज्यले कडा नीति लिने निर्णय पनि सोही बैठकमा गरिएको छ।
प्रसाईका गतिविधिहरूले लोकतान्त्रिक आन्दोलनभन्दा बढी राज्यसंरचना अस्थिर पार्ने खतरा देखिएको छ। , “सरकारले संवादको बाटो खुला राख्नुपर्छ, तर कानून र राज्यशक्ति कमजोर देखाउने स्थितिमा पुग्नु हुँदैन।”
दुर्गा प्रसाईप्रति दुईवटा नीति अवलम्बन गरेको छ—संवाद र कठोरता। एकातिर प्रसाईलाई छलफलमा ल्याएर समाधान खोज्ने प्रयास हुनेछ, अर्कोतिर राज्यसुरक्षामा चुनौती आएकै खण्डमा कठोर कदम चालिने संकेत दिइएको छ। आगामी छठ पर्वपछि प्रसाईको आन्दोलन कस्तो रूप लिन्छ र सरकारले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुराले आगामी राजनीतिक दिशा निर्धारण गर्ने देखिएको छ।
















