दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

२२ असोज, काठमाडौ ।  बलिउड तथा मराठी चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको गोवास्थित निवासमा बिहीबार बिहान गम्भीर कार्डियक अरेस्ट भएपछि निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नाना पाटेकरलाई गोवाको डोना पाउला क्षेत्रमा रहेको घरमा अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि तत्काल मणिपाल अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआरसहित पुनर्जीवन दिने प्रयास गरे पनि सफल हुन सकेन। उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको जनाइएको छ।

प्रारम्भिक जानकारीअनुसार उनको मृत्युको कारण गम्भीर कार्डियक अरेस्ट रहेको बताइएको छ। यद्यपि मृत्युको कारणबारे थप स्पष्टताका लागि पोस्टमार्टम प्रक्रिया अघि बढाइने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

हिन्दी र मराठी चलचित्रमा आफ्नो दमदार अभिनय तथा विशिष्ट संवाद शैलीका कारण चर्चित नाना पाटेकरले दशकौँ लामो अभिनय यात्रामा ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक छाएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more