१६ असार , काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले तत्काल कुनै पनि दलसँग पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पार्दै त्यसबारे भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै ओलीले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्रको रक्षा गर्न लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्त शक्तिबीच कार्यगत एकता र संयुक्त संघर्ष आवश्यक रहेको बताए। तर, एमालेले कुनै पनि दलसँग संस्थागत वा समूहगत पार्टी एकता नगर्ने स्पष्ट पारे।
उनले पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई भने उदारतापूर्वक समेट्ने नीति यथावत् रहने उल्लेख गर्दै विगतका पार्टी एकताहरू अपेक्षाअनुसार सफल हुन नसकेको बताए। सिद्धान्त र पवित्रताको अभावका कारण एकताको नाममा स्वार्थ, गठजोड र राजनीतिक दाउपेच हाबी भएको उनको टिप्पणी थियो।
ओलीले अबको आवश्यकता बलियो, अनुशासित र एकताबद्ध एमाले निर्माण रहेको बताउँदै पार्टीभित्रको एकतालाई थप मजबुत बनाउन नेता–कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा उनले गौरीबहादुर कार्की आयोग को प्रतिवेदनमाथि पनि प्रश्न उठाए। भदौ २३ गते गोली कसले चलायो र त्यसपछिका घटनामा सुरक्षा संयन्त्र किन निष्क्रिय बन्यो भन्ने विषय प्रतिवेदनमा समेटिएको नदेखिएकाले ती घटनालाई ढाकछोप गर्न आयोग गठन गरिएको जिकिर उनले गरे।

















