ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३ शुभारम्भ, सडक सुरक्षामा जोड

जनकपुरधाम, असार ३ गते — सडक सुरक्षा तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मधेश प्रदेशमा “ट्राफिक जनचेतनामूलक सप्ताह–२०८३” शुभारम्भ गरिएको छ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा मंगलबार बिहान जनकपुरधाममा सप्ताहव्यापी अभियानको उद्घाटन गरिएको हो। अभियान मधेश प्रदेश प्रहरी कार्यालय धनुषा तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराको समन्वय र सहकार्यमा सञ्चालन गरिएको जनाइएको छ।

बिहान ७ बजे रामानन्द चोकबाट सुरु भएको प्रभातफेरी अस्पताल रोड, जानकी मन्दिर र भैरव चोक हुँदै महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको सभाहलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।

कार्यक्रममा मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महत्तो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने सभापतित्व नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेत ले गरेका थिए।

उद्घाटन समारोहमा सुरक्षा निकायका प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, नागरिक समाज, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी तथा सुरक्षाकर्मी गरी ६०० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रममा मोनाष्टिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमका अवसरमा ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याएको भन्दै धनुषाधाम नगरपालिका–९ का वडाध्यक्ष सुरज कुमार लामा लगायत विभिन्न व्यक्तित्वलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले सहजीकरण गरेको उक्त कार्यक्रम असार ३ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ।

सप्ताहव्यापी अभियानअन्तर्गत नियमित ट्राफिक चेकजाँचका अतिरिक्त सवारी साधनको मेकानिकल परीक्षण, विद्यार्थीलाई ट्राफिक स्वयंसेवकका रूपमा परिचालन, चालक तथा सह–चालकको निःशुल्क स्वास्थ्य परीक्षण, लागूऔषध परीक्षण, सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक जिङ्गल प्रसारण, ट्राफिक नियमसम्बन्धी प्रशिक्षण, रक्तदान कार्यक्रम तथा सचेतनामूलक सामग्री वितरणलगायतका गतिविधि सञ्चालन गरिने जनाइएको छ।

आयोजकले सुरक्षित, अनुशासित र जिम्मेवार सडक संस्कृतिको विकासका लागि सबै सरोकारवाला निकाय तथा नागरिकलाई अभियानमा सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

“ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्राको सुनिश्चितता गरौँ” तथा “सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो” भन्ने नारासहित सप्ताहव्यापी अभियान सञ्चालन भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more