मंसिर १६,टोकियो, जापान ।— जापानबाट मुसलमान समुदायका लागि ठूलो चिन्ताको खबर आएको छ। जापान सरकारले मुसलमानका लागि दफनका लागि थप जमीन उपलब्ध गराउन अस्वीकार गरेको छ। सरकारको भनाइ अनुसार मुसलमानहरूले आफ्ना मृतकका शव आफ्नो–आफ्नै मूल देशमा लगेर दफन गर्नुपर्ने भएको छ।
हाल जापानमा मुस्लिम जनसंख्या करिब २ लाख नजिक पुगेको अनुमान छ। यति ठूलो संख्यामा मुस्लिम समुदाय बसोबास गरिरहेका बेला जापानका प्रमुख सहरहरूमा जग्गाको अत्यधिक अभाव भएकाले ठूलो कब्रिस्तान निर्माण गर्नु कठिन भएको सरकारी पक्षको तर्क छ।
जापानमा परम्परादेखि नै बौद्ध र शिन्टो धर्मको गहिरो प्रभाव छ। यी धर्महरूमा शवदाह (cremation) को प्रचलन अत्यधिक रहेको छ र देशभरका ९९% भन्दा धेरै अन्त्येष्टि दाहसंस्कारमार्फत गरिन्छ। यही कारण मुसलमान समुदायले चाहेको दफन संस्कारका लागि जापान एकदमै स्पष्ट र कडा रूपमा उभिएको सरकारी अधिकारीहरूले बताएका छन्।
यस निर्णयले जापानमा बसोबास गर्दै आएको प्रवासी मुस्लिम समुदाय—र जापानी नागरिकता प्राप्त गरिसकेका मुस्लिमहरू—दुवैका लागि ठूलो चुनौती सिर्जना गरेको छ। इस्लाम धर्ममा शवलाई भूमिमा दफन गर्ने बाध्यतामूलक धार्मिक नियम भएकाले जापानमा यो व्यवस्था पूर्ण रूपमा विपरीत ठहरिन्छ।
सरकारको ताजा निर्देशपछि जापानमा रहेका मुस्लिमहरूलाई आफ्ना मृतक परिजनको अन्तिम संस्कारका लागि अवशेषहरू मूल देशमा पठाउन बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ, जसले खर्च, प्रक्रिया र समयसम्बन्धी थप झन्झट निम्त्याउनेछ।
मुस्लिम समुदायले सरकारले वैकल्पिक व्यवस्था खोजिदिनुपर्ने माग गरिरहेको भए पनि जापान सरकार हालको अवस्थालाई परिवर्तन गर्न इच्छुक नदेखिएको छ। यसले आगामी दिनमा जापानमा बस्ने मुस्लिम समुदायको धार्मिक अधिकार र मानविय पक्षमा नयाँ बहस सुरु गर्ने संकेत गरेको छ।
















