२२ साउन , जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाले नेपाल सरकारको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा अनिवार्य रूपमा कार्यान्वयन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले शुक्रबार जारी गरेको पत्रमा नेपाल सरकार मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीको पत्रअनुसार शैक्षिक सत्र २०८३ देखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भइसकेको उल्लेख गरिएको छ।
पत्रमा केही शैक्षिक संस्थाले सार्वजनिक बिदाको दिनसमेत नियमित रूपमा कक्षा सञ्चालन गरिरहेको पाइएकाले यस्तो कार्य प्रचलित कानुनविपरीत भएको जनाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’बाट समेत सार्वजनिक बिदाको दिन कक्षा सञ्चालन नगर्न निर्देशन प्राप्त भएको भन्दै उपमहानगरले त्यसको पूर्ण पालना गर्न आग्रह गरेको छ।
उपमहानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन नियमित कक्षा सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी पनि दिएको छ।


















