जनकपुरधाममा दुई समुदायबीचको झडपपछि निषेधाज्ञा अहिले पनि जारी

असोज १८, जनकपुरधाम।  माता दुर्गाको मूर्ति सेलाउने क्रममा दुई समुदायबीच भएको झडपपछि जनकपुरधाममा जारी निषेधाज्ञा आज पनि कायम रहेको छ।

धनुषा जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार जनकपुरधाम उपमहानगरपालिका–२०, देवपुरा रुपैठामा हिजो बेलुका झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रशासनले साँझ ६:३० बजेदेखि निषेधाज्ञा जारी गरेको हो जुन अहिले पनि जारी छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको निषेधाज्ञा अनुसार, पूर्वतर्फ लोहना जाने बाटो, पश्चिमतर्फ बसहिया जाने बाटो, उत्तरतर्फ बाबा पेट्रोल पम्प (सिक्स लेन) र दक्षिणतर्फ गंगुली पुलसम्मको क्षेत्रलाई निषेधाज्ञा लागू हुने चार किल्ला तोकिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३(क) बमोजिम अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।

निषेधाज्ञा अवधिभर कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, आगजनी, तोडफोड तथा अवाञ्छित गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ। आदेशको उल्लङ्घन गर्ने वा लागु गराउन अवरोध गर्ने व्यक्तिमाथि कानूनी कारबाही हुने चेतावनी पनि प्रशासनले दिएको छ।

सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको छ भने स्थानीय बासिन्दालाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन अनुरोध गरिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more