२८ असार , जटही / जनकपुरधाम। भारत–नेपाल सीमास्थित जयनगर–जटही नाकामा मानव तस्करीको प्रयास विफल पार्दै भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक नेपाली नाबालिग बालिकाको उद्धार गरेको छ। घटनामा संलग्न रहेको आशंकामा एक युवकलाई नियन्त्रणमा लिइएको छ।
एसएसबीको ४८औँ बटालियनअन्तर्गत जयनगरको जटही चेकपोस्ट, पिपरौनमा शुक्रबार नियमित सुरक्षा जाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका एक युवक र एक नाबालिग बालिकामाथि सुरक्षाकर्मीलाई शंका लागेको थियो। त्यसपछि दुवैलाई रोकेर सोधपुछ गरिएको थियो।
सोधपुछका क्रममा युवकले बालिकालाई आफ्नी पत्नी भएको दाबी गरे पनि दुवैको बयान एक–आपसमा नमिलेको एसएसबीले जनाएको छ। बालिकाले युवकसँगको सम्बन्धबारे स्पष्ट जानकारी दिन नसकेको तथा दुवैसँग कुनै वैध परिचयपत्रसमेत नभेटिएको बताइएको छ।
प्रारम्भिक अनुसन्धानबाट युवकले विवाहको प्रलोभन देखाई बालिकालाई भारत लैजान खोजेको आशंका बलियो बनेपछि एसएसबीले तत्काल बालिकालाई सुरक्षित संरक्षणमा लिएको थियो।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल सशस्त्र प्रहरी बल (एपीएफ)को उपस्थितिमा उद्धार गरिएकी बालिका र नियन्त्रणमा लिइएका युवकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि पीस रिह्याबिलिटेसन सेन्टरका काउन्सिलरको जिम्मा लगाइएको छ।
एसएसबीले भारत–नेपाल सीमामा मानव तस्करी नियन्त्रणका लागि नियमित निगरानी तथा संयुक्त सुरक्षा अभियानलाई निरन्तरता दिइएको जनाएको छ।

















