२७ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन अघि बढाएको छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा महिलाको मर्यादामा आँच पुर्याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी विषयहरू गम्भीर र संवेदनशील रहेको उल्लेख गरेको छ।
रास्वपाले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ। छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनसमेत निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कानुन र पार्टी विधानविपरीत कार्य गर्ने जोसुकैलाई राजनीतिक संरक्षण नदिने स्पष्ट पार्दै रास्वपाले राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कदम चाल्ने जनाएको छ।
सुनारमाथि सार्वजनिक भएका विषयहरू हाल आरोपका रूपमा रहेका छन्। तिनको सत्यता भने स्वतन्त्र अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।




















