माघ १६, काठमाडौ । — बाँके–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगेन्द्र सुनारले दिएको ‘गाई खाने’ सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण जनाएको छ।
पार्टीले एक विज्ञप्ति जारी गर्दै सुनारका अघिल्ला अभिव्यक्तिबाट धार्मिक तथा सांस्कृतिक भावनामा ठेस पुगेको स्वीकार गरेको छ। रास्वपाका अनुसार उक्त विषयमा क्षमायाचना गरिसकिएको छ र यसबाट पर्न गएको असरप्रति पार्टी संवेदनशील रहेको जनाएको छ।
रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा सार्वजनिक अभिव्यक्ति र व्यवहारमा थप संयम अपनाउन तथा सामाजिक–धार्मिक विविधताको सम्मान गर्न निर्देशन दिइएको स्पष्ट पारेको छ। कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्ने पार्टीको उद्देश्य नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
पार्टीले लोकतान्त्रिक समाजमा अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको प्रयोग गर्दा सामाजिक सद्भाव र सार्वजनिक मर्यादालाई ध्यानमा राख्नुपर्नेमा जोड दिएको छ। साथै, आगामी दिनमा यस्ता विषयमा सतर्कता अपनाइने प्रतिबद्धता जनाइएको छ।
















