मंसिर १५, काठमाडौ । शहरी विकास, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले आगामी निर्वाचनमा आफू उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरेका छन् । मोरङको बेलबारीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय, राजनीतिक कार्यकर्ता र नागरिक समुदायबीच मन्तव्य राख्दै मन्त्री घिसिङले “राजनीतिमा आइसकेपछि चुनाव लड्नु स्वभाविक प्रक्रिया” भएको बताए । कार्यक्रममा उनलाई ‘मन्त्री पद त्यागेर चुनाव लड्नुहुन्छ कि पदमै रहेर?’ भनी सोधिएको प्रश्नमा उनले राजीनामा नदिई, पदमै रहेर चुनाव लड्ने स्पष्ट जवाफ दिएका हुन् । आफ्नो दाबीलाई पुष्टि गर्न विगतका राजनीतिक अभ्यास स्मरण गराउँदै घिसिङले अन्तरिम सरकार र चुनावी सरकारका प्रधानमन्त्रीहरूले समेत पदमै रहेर चुनाव लडेको उदाहरण पेश गरे । “कुन चुनावी सरकारले पद छोडेर चुनाव लड्यो र ? हामी पनि त्यसैअनुरूप व्यवस्थापन गरेर अघि बढ्छौं,” उनले भने ।
मन्त्री घिसिङले आगामी फागुन २१ गते निर्वाचन हुने दाबी गर्दै त्यसका लागि सरकार पूर्ण रूपमा तयार रहेको दोहोर्याए । उनले चुनाव आयोजनामा बजेट अभाव नरहेको समेत उल्लेख गरे । “हामीसँग बजेटको संकट छैन, चुनाव गराउन आर्थिक समस्या छैन । यो सरकारको मुख्य भूमिका नै फागुन २१ को चुनाव सम्पन्न गराएर देशमा स्थायित्व दिनु हो,” घिसिङको भनाइ थियो ।
अन्तरक्रिया क्रममा नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति— रवि लामिछाने र काठमाडौं मेयर बालेन्द्र (बालेन) शाहसँग एकता विषयमा सोधिएको प्रश्नमा उनले देश निर्माणका लागि सबै वैकल्पिक शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । “एकता हुनैपर्छ, नेतृत्व कसले गर्छ–भन्दा पनि एक भएर देश बनाउन अघि बढ्नुपर्छ,” उनले भने, “देश बनाउँछु भनेर आउनुभएको सबै समूह र फोर्सहरूको साझा मोर्चा आवश्यक छ ।”
मुलुकका ‘लाइफलाइन’ योजनाका रूपमा व्याख्या गरिने पूर्व–पश्चिम राजमार्ग, रेलवे तथा रणनीतिक पूर्वाधार परियोजनाहरूलाई दीर्घकालसम्म अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री घिसिङले उर्लाबारी–बेलबारी क्षेत्रमा रोकिएका योजनाहरूलाई तत्काल कार्यान्वयनमा लैजाने आश्वासनसमेत दिएका छन् । “उज्यालो नेपाल भनेको केवल बत्तीको उज्यालो होइन, यो सुशासन र सामाजिक न्यायको उज्यालो हो,” उनले थपे ।















