१७ माघ, काठमाडौ । — नेपाली कांग्रेसका सभापति गगन थापाले मतदातासमक्ष कांग्रेसलाई नै सबैभन्दा नयाँ दलका रूपमा प्रस्तुत गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। शनिबार काठमाडौं–४ को निर्वाचन परिचालन समितिको कार्यक्रममा सम्बोधन गर्दै उनले विशेष अधिवेशनपछि बद्लिएको नेतृत्व र दृष्टिकोणका आधारमा कांग्रेस ‘नयाँ’ पार्टीका रूपमा अघि बढेको बताए।
सभापति थापाले घरदैलोका क्रममा मतदाताले “यसपटक पुरानो पार्टीलाई भोट दिन्न, नयाँ पार्टीलाई दिन्छु” भनेमा पुरानो र नयाँको परिभाषा नै सोध्न कार्यकर्तालाई सुझाए। “नयाँ भनेको के हो ? अनुहार नयाँ हुनु मात्र नयाँपन होइन,” उनले भने, “संस्थागत परिवर्तन, आन्तरिक लोकतन्त्र र नीतिगत स्पष्टताले पार्टीलाई नयाँ बनाउँछ।”
उनका अनुसार फागुन ६ गतेअघि विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तन भइसकेको कांग्रेस नयाँ सोच, नयाँ शैली र नयाँ नेतृत्वसहित अघि बढिरहेको छ। यही सन्देश स्पष्ट रूपमा मतदातासमक्ष पुर्याउन उनले जोड दिए।
सभापति थापाले चुनाव नजिकिँदा रातारात पार्टी गठन गरेर आउने समूहलाई ‘नयाँ’ भन्न नमिल्ने दाबी गरे। स्थायी संरचना, नीतिगत आधार र लोकतान्त्रिक अभ्यासमार्फत रूपान्तरण भएको दल नै वास्तविक अर्थमा नयाँ हुने उनको तर्क थियो।
कांग्रेस अहिलेको राजनीतिक सन्दर्भमा अन्य दलभन्दा फरक र नवीन दिशातर्फ अग्रसर रहेको दाबी गर्दै थापाले चुनावी बहसमा ‘नयाँ पार्टी’को कथ्यलाई आत्मविश्वासका साथ प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गरे।

















