३० असोज, जनकपुरधाम। बडादसैँ अर्थात् नवरात्रिको छैटौँ दिन आज शुक्रबार दुर्गा भवानीको छैटौँ स्वरूप कात्यायनी देवीको पूजा–आराधना गरिँदैछ। यस अवसरमा जनकपुरधामस्थित विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।
कात्यायनी देवीलाई साहस, शक्ति र पराक्रमको प्रतीकका रूपमा लिने गरिन्छ। धार्मिक मान्यताअनुसार, देवकार्य सिद्ध गर्न तथा आसुरी शक्तिको विनाश गर्न माता भवानीले कात्यायनी ऋषिकी पुत्रीका रूपमा अवतार लिएकी थिइन्। सोही कारण उनी कात्यायनी नामले प्रसिद्ध भएकी हुन्।
देवीभागवतलगायत धार्मिक ग्रन्थमा कात्यायनी देवीले शक्तिशाली सिंहमा सवार भई दानवको वध गरेको उल्लेख छ। उनलाई माता पार्वतीको सौर्य स्वरूपका रूपमा समेत पूजा गर्ने परम्परा छ। देवीको हातमा रहेको चम्किलो खड्गलाई चन्द्रहास खड्ग भनिन्छ।
नवरात्रिमा प्रत्येक दिन नवदुर्गाका फरक–फरक स्वरूपको पूजा गर्ने परम्पराअनुसार छैटौँ दिन कात्यायनी देवीको विशेष आराधना गरिन्छ। यस दिन देवीको मूर्तिलाई सजाएर फूल, पत्र तथा विभिन्न पूजासामग्री अर्पण गरिन्छ। साथै, देवीलाई मिठाई चढाउनुका साथै विधिपूर्वक मन्त्रोच्चारण गरी पूजा गर्ने चलन छ।
धार्मिक विश्वासअनुसार कात्यायनी देवीको आराधना गर्नाले साहस, शक्ति, सुख, समृद्धि तथा मनोकामना पूर्ति हुने मान्यता छ। यही आस्थाका साथ भक्तजनहरू बिहानैदेखि शक्तिपीठ तथा दुर्गा मन्दिरमा पुगेर पूजाआजा र दर्शन गरिरहेका छन्।
नवरात्रिका अवसरमा जनकपुरधामका विभिन्न मठमन्दिर तथा शक्तिपीठमा धार्मिक गतिविधि बढेको छ। भक्तजनहरूले विधिपूर्वक पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र कल्याणको कामना गरिरहेका छन्।




















