पुस २५, जनकपुरधाम। शिवराम झा—– रामनगरी अयोध्या धाममा ननभेज खाना बेच्न पूर्ण प्रतिबन्ध लगाइएको छ। होटल, रेस्टुरेन्ट मात्र होइन, अनलाइन डेलिभरी सेवामार्फतसमेत ननभेज खाना उपलब्ध नहुने व्यवस्था गरिएको छ। धार्मिक आस्था, सांस्कृतिक मर्यादा र तीर्थस्थलको पवित्रता जोगाउने उद्देश्यसहित गरिएको यो निर्णयले तीर्थस्थल व्यवस्थापनबारे गम्भीर बहस जन्माएको छ।
तर यही सन्दर्भमा सिया नगरी जनकपुरतर्फ फर्केर हेर्दा अवस्था ठीक उल्टो देखिन्छ। माता सीताको जन्मभूमि मानिने जनकपुरधाममा मन्दिर परिसरको करिब १०-२० मिटर वरिपरि नै ननभेज खाना र मदिरा छ्यापछ्यापी बिक्री भइरहेको यथार्थ लुकाउन सकिने विषय होइन। धार्मिक आस्थाको केन्द्रमै यस्तो अवस्था हुनु विडम्बनापूर्ण मात्र होइन, चिन्ताजनक पनि हो।
जनकपुरधाम धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै जाँदा सुविधा र व्यापारका नाममा आस्थाको मर्यादा ओझेलमा परेको अनुभूति धेरै श्रद्धालुहरूले गरिरहेका छन्। तीर्थस्थलमा आउने भक्तजनले अपेक्षा गर्ने शान्त, सात्त्विक र पवित्र वातावरण दिन नसक्नु स्थानीय सरकार, सरोकारवाला निकाय र समाज सबैको साझा असफलता हो।
धर्म र आधुनिक जीवनशैलीबीच सन्तुलन आवश्यक छ भन्ने तर्क महत्त्वपूर्ण भए पनि, कम्तीमा मन्दिर वरिपरि न्यूनतम मर्यादा कायम गर्नु अनिवार्य देखिन्छ। अयोध्याको निर्णयले जनकपुरजस्ता धार्मिक शहरलाई ऐनामा हेर्ने अवसर दिएको छ।
अब प्रश्न केवल ननभेज वा मदिराको होइन, सिया नगरी जनकपुरको पहिचान के हो भन्ने हो। के जनकपुर आस्थाको केन्द्रका रूपमा चिनिन चाहन्छ, कि अनियन्त्रित व्यापार र लापरवाहीको उदाहरण बनेर रहिरहनेछ ? यसको उत्तर नीति, इच्छाशक्ति र सामाजिक चेतनाले तय गर्नेछ।



















