२५ असार , काठमाडौ । अमेरिका र इरानबीचको तनाव फेरि चुलिएको छ। अमेरिकाले इरानका सैन्य संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी सेनाले हर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप इरानका हवाई प्रतिरक्षा प्रणाली, राडार तथा अन्य सैन्य पूर्वाधारलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड ) का अनुसार अन्तर्राष्ट्रिय जलमार्गमा भएका आक्रमणका लागि जिम्मेवार मानिएका संरचनामाथि कारबाही गरिएको हो।
यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ। घटनापछि ती क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
दुवै देशबीच स्थायी शान्ति सम्झौता तथा इरानको आणविक कार्यक्रमबारे वार्ताको तयारी भइरहेका बेला भएको यो सैन्य भिडन्तले तनाव थप बढाएको छ। यसले सम्भावित युद्धविराम र कूटनीतिक प्रयासको भविष्यसमेत अनिश्चित बनेको विश्लेषण गरिएको छ।
यसैबीच, अमेरिकाले अन्तरिम सम्झौताअन्तर्गत इरानलाई दिइएको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल बिक्रीसम्बन्धी विशेष अनुमति पनि खारेज गरेको जनाएको छ। यस निर्णयले विश्व ऊर्जा बजारमा थप दबाब सिर्जना हुने अनुमान गरिएको छ।
उता, हर्मुज जलडमरूमध्य आसपास व्यावसायिक जहाजमाथि भएका आक्रमणले अन्तर्राष्ट्रिय जलयातायात र ऊर्जा आपूर्तिमाथि नयाँ चिन्ता थपिएको छ। विश्वको ठूलो परिमाणमा कच्चा तेल र प्राकृतिक ग्यास यही समुद्री मार्गबाट ओसारपसार हुने भएकाले तनाव लम्बिए विश्व ऊर्जा बजारमा अस्थिरता बढ्न सक्ने आकलन गरिएको छ।


















