अग्रगामी मोर्चाका बुद्धिजीवीहरूको भेला, १५ सदस्यीय समिति गठन

७ भदौ , काठमाडौ ।अग्रगामी मोर्चामा आबद्ध राजनीतिक दलका बुद्धिजीवीहरूको भेला काठमाडौंमा सम्पन्न भएको छ। भेलाले मोर्चाको वैचारिक तथा बौद्धिक अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यसहित १५ सदस्यीय बुद्धिजीवी समिति गठन गरेको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित भेलामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मोर्चामा आबद्ध विभिन्न राजनीतिक दल तथा बौद्धिक क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

भेलालाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक तथा सामाजिक संकटको निकास खोज्न तथा नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकारको संरक्षण गर्दै थप अधिकारका लागि संघर्ष गर्न अग्रगामी मोर्चा गठन गरिएको बताउनुभयो। उहाँले बुद्धिजीवीहरूको भूमिका सुझाव र सल्लाहमा मात्र सीमित नरहने भन्दै मोर्चाको वैचारिक आधार, नीति तथा कार्यक्रम निर्माण र जनताका वास्तविक समस्यालाई राजनीतिक एजेण्डाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। यादवले केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म बुद्धिजीवीहरूको संगठन विस्तार गर्नुपर्नेमा जोड दिँदै मोर्चालाई देशव्यापी रूपमा विस्तार गरिने बताउनुभयो।

भेलालाई सम्बोधन गर्दै नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. रिजवान अन्सारीले वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, धार्मिकलगायत विभिन्न प्रकारका उत्पीडनमा परेका समुदायको अधिकारका लागि एकताबद्ध संघर्ष आवश्यक रहेको बताउनुभयो। उत्पीडित तथा अधिकारबाट वञ्चित समुदायको प्रतिनिधित्व गर्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आएर अग्रगामी मोर्चा निर्माण गरिएको उल्लेख गर्दै उहाँले यसलाई दीर्घकालीन राजनीतिक वैकल्पिक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। अन्सारीका अनुसार आगामी निर्वाचनमा मोर्चामा आबद्ध दलहरू एउटै चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने दिशामा अघि बढ्ने र दीर्घकालीन रूपमा आबद्ध सबै दललाई एउटै राजनीतिक शक्तिमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।

अन्सारीले वर्तमान सरकारले जनहितविरोधी निर्णय नगरी देश र जनताप्रति समर्पित भएर काम गर्नुपर्ने बताउनुभयो। जनअधिकार, राष्ट्रिय स्वाधीनता, सुशासन, समानता र सामाजिक न्याय नेपाली जनताका प्रमुख सवाल रहेको उल्लेख गर्दै उहाँले यी विषयलाई केन्द्रमा राखेर अग्रगामी मोर्चा अघि बढ्ने बताउनुभयो। उहाँले मोर्चालाई केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म विस्तार गर्नुका साथै समाजका विभिन्न वर्ग तथा समुदायसँग सम्बन्धित जनवर्गीय संगठन निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

भेलाले अग्रगामी मोर्चाको आगामी राजनीतिक, वैचारिक तथा संगठनात्मक अभियानमा बुद्धिजीवीहरूको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेको छ। नवगठित १५ सदस्यीय समितिले मोर्चाको वैचारिक अभियानलाई व्यवस्थित बनाउने, नीति तथा कार्यक्रम निर्माणमा सुझाव दिने, जनताका समस्या तथा सरोकारको अध्ययन गरी राजनीतिक नेतृत्वसमक्ष प्रस्तुत गर्ने र देशभर बुद्धिजीवीहरूको संगठन विस्तारमा योगदान गर्ने अपेक्षा गरिएको छ। भेलामा सहभागीहरूले अग्रगामी मोर्चालाई राजनीतिक दलहरूको गठबन्धनमा मात्र सीमित नराखी अधिकार, समानता, सामाजिक न्याय, समावेशिता, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिय स्वाधीनताको पक्षमा व्यापक जनआधारित वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more